काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) ले संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर
सम्मेलन (UN Chiefs of Police Summit) मा नेपालको
तर्फबाट प्रस्तुत गरेको धारणा केवल औपचारिक सम्बोधन मात्र होइन, विश्वव्यापी सुरक्षा चुनौतीहरू सामना गर्न अन्तर्राष्ट्रिय
सहकार्यको आवश्यकतामाथिको स्पष्ट सन्देश पनि हो। साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद तथा
शान्ति स्थापना जस्ता चुनौतीहरू कुनै एक देशको सीमाभित्र सीमित नरहेकाले साझा
प्रयास अपरिहार्य बनेको छ।
नेपालले लामो समयदेखि संयुक्त
राष्ट्रसंघीय शान्ति मिसनमा व्यावसायिक, अनुशासित र विश्वसनीय प्रहरी जनशक्ति पठाउँदै अन्तर्राष्ट्रिय समुदायमा
सकारात्मक छवि निर्माण गरेको छ। यही अनुभवलाई आधार बनाएर आईजीपी दान बहादुर कार्कीकाले उक्त संम्मेलनलाई संम्वोधन गर्दै
भन्नुभयो; बदलिँदो विश्व
सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको
दुरुपयोगबाट उत्पन्न चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन
नसक्ने स्पष्ट पार्नुभयो। यस्ता चुनौतीको
सामना गर्न सदस्य राष्ट्रहरूबीच सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा
अत्याधुनिक प्रविधिको प्रभावकारी उपयोगमार्फत सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने
आवश्यकता औँल्याउनु भयो।
आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय
शान्ति मिसनहरूमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ निर्वाह गर्दै आएको भूमिकाको
चर्चा गर्दै विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास
व्यक्त गर्नुभयो।
उहाँले महिला प्रहरीको सहभागिता वृद्धि, समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानूनको शासनलाई केन्द्रमा राखेर आधुनिक, उत्तरदायी र नागरिकमैत्री प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको धारणा पनि राख्नुभयो।
शान्ति र सुरक्षाका साझा चुनौतीहरूको
प्रभावकारी समाधानका लागि सदस्य राष्ट्रहरूबीच विश्वास, समन्वय र साझेदारी अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै उनले
सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व
निर्माणका लागि सबै राष्ट्रहरू एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो।
आज अपराधको स्वरूप तीव्र गतिमा बदलिँदै गएको छ। डिजिटल प्रविधिको दुरुपयोग, साइबर आक्रमण, वित्तीय अपराध तथा सीमा पार अपराध नियन्त्रणका लागि कुनै पनि देश एक्लैले प्रभावकारी सफलता हासिल गर्न सक्दैन। त्यसैले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यलाई संस्थागत र व्यवहारिक बनाउने पहल समयसापेक्ष छ।
प्रहरी संस्थाबीच सूचना
आदान–प्रदान, प्रविधिमैत्री अनुसन्धान, क्षमता अभिवृद्धि तथा संयुक्त प्रशिक्षणलाई अझ सुदृढ
बनाउनुपर्ने आवश्यकता औंल्याउनु स्वागतयोग्य छ।
नेपाल प्रहरीका लागि पनि यो सम्मेलन
अनुभव आदान–प्रदान, उत्कृष्ट अभ्यास
सिक्ने तथा विश्वका आधुनिक प्रहरी संगठनसँग सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसर
हो। यसबाट प्राप्त ज्ञान, प्रविधि र अनुभवलाई
स्वदेशमा लागू गर्न सकिए प्रहरी सेवाको गुणस्तर, अनुसन्धान क्षमता र सार्वजनिक सुरक्षा थप प्रभावकारी बन्न सक्छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको
सक्रिय सहभागिताले देशको प्रतिष्ठा बढाउनुका साथै शान्ति, सुरक्षा र कानुनी शासनप्रतिको प्रतिबद्धतालाई समेत बलियो
बनाउँछ। अब यस्ता सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण
गर्दै नेपाल प्रहरीलाई अझ आधुनिक, व्यावसायिक र
प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्नु नै मुख्य चुनौती र अवसर दुवै हो।