सप्तरी । हिन्दु सनातनी
समाज सप्तरीले अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरेको छ। संगठनले सुनसरीको
देवानगञ्जमा साउन १० गते भएको घटनामा हिन्दु समुदायमाथि भएको दमन, गोली
प्रहारबाट मृत्यु तथा घाइते भएका घटनाको निष्पक्ष छानबिन, दोषीमाथि
कारबाही र पीडितलाई न्यायको माग गर्दै साउन १५ गतेदेखि अर्को सूचना नभएसम्म सप्तरी
जिल्ला बन्द गर्ने घोषणा गरेको हो।
जारी विज्ञप्तिमा देवानगञ्ज घटनाका पीडितले न्याय नपाएको
तथा सिरहाको मिर्चैया, गोलबजार र जनकपुरलगायत क्षेत्रमा
पनि हिन्दु युवामाथि गोली प्रहार र हिंसात्मक घटनाहरू भएको उल्लेख गर्दै यस्ता
घटनाको समाधान नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ।
बन्दका क्रममा यातायात, बजार तथा अन्य
गतिविधि प्रभावित हुने जनाइएको छ। यद्यपि एम्बुलेन्स, दूध, खाद्यान्न
तथा तरकारी बोकेका सवारी, बिरामी बोक्ने सवारी, औषधि पसल, अस्पताल, चिकित्सकका
क्लिनिक, किसानका लागि बीउ र मलखादका पसल, ग्यास
तथा इन्धनका गाडी र विद्यालय सञ्चालनमा भने अवरोध नहुने विज्ञप्तिमा उल्लेख छ।
यस्तै, अत्यावश्यक
सामग्री खरिद–बिक्रीका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७
बजेसम्म बजार खुला रहने व्यवस्था गरिएको जनाइएको छ।
यो बन्दको आह्वानमा सनातन संस्कृति नेपाल सप्तरी, हिन्दु सम्राट नेपाल सप्तरी, राष्ट्रिय बजरंगदल सप्तरी, इस्कोन राजविराज र श्रीकृष्ण भक्त मण्डल, राजविराज लगायतका संस्थाले समर्थन जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।