शनि, २७ भदौ २०८३ / September 12, 2026, Saturday
शनि, २७ भदौ २०८३
Advertisement
banner add

पाकिस्तानमा बौद्ध सम्पदा संरक्षणबारे अन्तर्राष्ट्रिय सम्मेलन

banner add
writter
शुक्र, २६ भदौ २०८३
(Shares)

बौद्ध सम्पदाका विद्धान एवम् बौद्ध परम्परावादीहरुले बुद्धसँग जोडिएका साझा सम्पदाको संरक्षण गर्दै शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । 

पाकिस्तानको परराष्ट्र मन्त्रालयद्वारा ‘गान्धार टु द वल्र्ड’ शीर्षकमा हिजो सम्पन्न दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बौद्ध सम्पदाका अध्येताहरुले बौद्ध परम्पराको विकासमा शान्ति र समृद्धिको नयाँ आयाम खोज्नुपर्नेमा जोड दिएको बताइन्छ । 

गान्धर बौद्ध परम्परालाई महायान बौद्ध परम्पराको जन्मस्थल मानिन्छ । यही क्षेत्रमा प्राचीन तक्षशिला विश्वविद्यालय पनि रहेको थियो, जसलाई अहिले टक्सिलाको नामबाट चिनिन्छ । 

बौद्ध परम्पराको विकास गर्दै शान्ति र समृद्धिको आयाम खोज्ने क्रममा दक्षिण एसिया र अन्य मुलुकमा रहेका प्राचीन बुद्ध सम्पदाको एकीकृत परिपथ सञ्चालन गर्नुपर्ने विज्ञहरुले बताएका छन् । 

बुद्धको जन्मस्थल नेपालको लुम्बिनी र गान्धारको सम्बन्ध स्थापना गर्दा अरु पनि बौद्ध सम्पदाहरुको संयोजन हुने विश्वास गरिएको छ । गान्धारको बौद्ध सम्पदा युरोप र चीनसँग सम्बन्ध स्थापना गर्ने गेटवे पनि हो । 

प्राचीन रेशम मार्ग र ग्रिसेली परम्पराको बौद्ध मूर्तिकला गान्धारको विशेषता रहेको छ । यही क्षेत्रमा गौतम बुद्धको पहिलो मूर्ति कुँदिएको र बौद्ध मूर्ति परम्पराको विकास भएको पनि मानिन्छ । 

त्यसैले, यसमा विश्वको नै चासो रहेको युनिभर्सिटी अफ टेक्सास, अस्टिनका वरिष्ठ अनुसन्धानकर्ता नदिम ओमार तरारले बताए । ‘हामीले यी सबै कुराको प्याकेज बनाएर विश्वलाई देखाउनुपर्छ,’ उनले भने ।


श्रींलकाको बौद्ध शासन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री विदुरविक्रम नाइकेले बौद्ध सम्पदाको एकीकृत विकास र भावी पुस्तामा हस्तान्तरणका लागि एकीकृत कार्ययोजना बनाउनुपर्ने भन्दै त्यसमा विगत, वर्तमान र भविष्यमा आधारित भएर काम गर्नुपर्ने सुझाव दिए । 


पाकिस्तानका धार्मिक मामिला तथा आन्तरिक सद्भावमन्त्री चौधरी सालिक हुसेनले सबै धर्म र सम्प्रदायमा अतिवादको समस्या रहेकाले त्यसलाई न्यूनीकरण गरी सद्भाव र सहअस्तित्वको आधारमा काम गर्नुपर्ने धारणा राखेका थिए । 

यसका लागि पाकिस्तान कार्ययोजना बनाउन तयार रहेको पनि उनले बताए । थाइल्यान्डको बौद्ध संघका वरिष्ठ भिक्षु डा.अनिल शाक्यले बौद्ध परम्पराको संरक्षण र सम्बद्र्धन गर्न सबैभन्दा पहिले तिनमा हुने गरेको राजनीति अन्त्य गर्नुपर्ने बताए । 

उनले पाकिस्तानको नाम पवित्र स्थल रहेको र गान्धार सभ्यताको पुनरुत्थान गरेर रेशम मार्ग र उत्तरापथका माध्यमबाट विश्व समुदायमा पहुँच दिन सकिने जनाए । पाकिस्तानको हजारा विश्वविद्यालयका पुरातत्व विभाग अध्यक्ष प्रोफेसर सकिरुलला खानले गान्धारा मात्र नभई पाकिस्तानका सबै ठाउँमा बौद्ध सम्पदा रहेको तर त्यसको अध्ययन, अनुसन्धान, उत्खनन र संरक्षण हुन नसकेको बताए । 

पाकिस्तानका कार्यवाहक परराष्ट्र सचिव मारियम मदिना आफताबले गान्धार अन्तरसांस्कृतिक सम्बन्ध स्थापनाका लागि रणनीतिक सभ्यता विकासको स्थल रहेकोले यसको संरक्षण र संवर्धन गरी विश्व समुदायमा प्रचारप्रसार गर्न सम्मेलनको आयोजना गरिएको बताए । 

युवा पर्यटन विकास सञ्जालका प्रमुख कार्यकारी अधिकृत अभिकृत जहुर दुर्रानीले राष्ट्रिय ध्वजावाहक पाकिस्तान एयरलाइन्सले बौद्ध मुलुकका लागि सीधा हवाई सेवा सुचारु गरी यस क्षेत्रको विकास लागि विशेष पहल गर्न सुझाएका छन् ।

नेपाली दूतावासमा पनि अन्तरक्रिया

इस्लामावादस्थित नेपाली दूतावासले सम्मेलनमा भाग लिन पुगेको प्रतिनिधिमण्डल र पाकिस्तानमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेको छ । सम्मेलनस्थलमा नेपाली दूतावासले नेपालको बौद्ध सम्पदा र बौद्ध परम्परा झल्काउने स्टल समेत राखेको थियो ।

उक्त अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले एकीकृत विकास भए पर्यटनबाट सम्बन्धित मुलुकले फाइदा लिन सक्ने बताए । यसका लागि नेपाल–पाकिस्तानबीच प्रत्यक्ष हवाई सेवा सुरु हुनसके राम्रो हुने उनको भनाइ छ । 

पूर्वमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका प्रमुख डा.केशवमान शाक्यले नयाँ पुस्तालाई बुद्धको जीवन र बुद्ध विचारका महत्त्वपूर्ण चरणमा आधारित शिक्षा दिनुपर्नेमा जोड दिएका हुन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर