आइत, ३१ जेठ २०८३ / June 14, 2026, Sunday
आइत, ३१ जेठ २०८३
Advertisement
banner add

काठमाडौँ महानगरको नयाँ नीति: अव्यवस्थित विज्ञापनमा प्रतिबन्ध, डिजिटल सेवा र पार्किङ व्यवस्थापनमा जोड

banner add
writter
आइत, ३१ जेठ २०८३
(Shares)

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शहरको सौन्दर्य, सुरक्षा र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको छ। कार्यबाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अव्यवस्थित तथा शहरको सौन्दर्यमा नकारात्मक असर पार्ने विज्ञापन सामग्रीलाई पूर्ण रूपमा निषेध गर्ने घोषणा गरिएको छ।

महानगरले आफ्ना सूचना तथा गतिविधिको प्रचारप्रसारका लागि वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानल र विभिन्न डिजिटल प्लेटफर्मको प्रयोगलाई विस्तार गर्ने जनाएको छ। साथै, स्रोत–साधनको उपयोगलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइने नीति लिइएको छ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन महानगर तथा सबै वडा कार्यालयमा सञ्चालित एकद्वार सेवा केन्द्रलाई थप सुदृढ गरिनेछ। कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्दै नागरिकमैत्री सेवा प्रदान गर्ने लक्ष्य पनि कार्यक्रममा समावेश गरिएको छ।

यस्तै, विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणाअन्तर्गत इन्टर्नशिप, फेलोशिप तथा पार्ट–टाइम इन्गेजमेन्ट कार्यक्रम सञ्चालन गरिने भएको छ। यसबाट विद्यार्थीले व्यवहारिक अनुभवसँगै आयआर्जनको अवसर पाउने अपेक्षा गरिएको छ।

स्थानीय तहमा उत्पन्न हुने विवाद समाधानका लागि मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिइने र न्याय सम्पादनलाई छिटो, सहज तथा पहुँचयोग्य बनाइने महानगरको योजना छ। शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी, नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, समुदाय तथा सम्बन्धित संघ–संस्थाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाइने उल्लेख गरिएको छ।

पार्किङ व्यवस्थापनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ। नयाँसडक तथा आसपास क्षेत्रमा बढ्दो पार्किङ समस्याको दीर्घकालीन समाधान खोज्न अध्ययन गरी कार्यान्वयन गरिनेछ। साथै, नेपाल वायु सेवा निगमको नयाँसडक गेटस्थित घरजग्गालाई बहुउद्देश्यीय पार्किङ स्थलका रूपमा उपयोग गर्न संघीय सरकारमार्फत पहल गरिने नीति लिइएको छ।

त्यसैगरी, विश्वका विभिन्न शहरका सफल अभ्यासबाट सिकाइ आदानप्रदान गर्दै प्रविधि हस्तान्तरण, सूचना तथा सांस्कृतिक सहकार्यमार्फत काठमाडौँको समग्र विकासमा योगदान पुर्‍याउन ‘सबनेशनल डिप्लोमेसी’ अवधारणालाई पनि अगाडि बढाइने भएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर