मङ्गल, ०५ जेठ २०८३ / May 19, 2026, Tuesday
मङ्गल, ०५ जेठ २०८३
Advertisement
banner add

राष्ट्रियसभामा समसामयिक मुद्दा उठ्यो, सरकारको ध्यानाकर्षण

banner add
writter
सोम, ०४ जेठ २०८३
(Shares)

राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्ने सांसदहरूले वर्षायामसँगै बढेको बाढी, पहिरो र डुबानको जोखिम, किसानले भोगिरहेको बाँदर तथा बँदेलको समस्या, शान्तिसुरक्षा, सुशासन र आर्थिक विषयमा सरकारको जवाफदेहिता माग गरेका हुन्।

सांसद गीता देवकोटाले वर्षा सुरु भएसँगै बाढी, पहिरो र डुबानको जोखिममा परेका नागरिकको सुरक्षाका लागि तत्काल राहत, उद्धार तथा पुनःस्थापनाको तयारी गर्न सरकारलाई आग्रह गरिन्।

सांसद जगत तिमिल्सिनाले विश्वविद्यालय र शैक्षिक संस्थामा प्राध्यापन तथा परीक्षा प्रणालीलाई लिएर अनावश्यक भ्रम र गलत प्रचार नगर्नुपर्ने धारणा व्यक्त गरे।

सांसद मीना सिंह रखालले दैलेखलगायत विभिन्न जिल्लामा बाँदर र बँदेलका कारण किसानले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै जङ्गली जनावर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरिन्।

सांसद रञ्जित कर्णले सुशासनको नाममा ट्रेड युनियन अधिकार कमजोर पार्न नहुने भन्दै सरकारले त्यस्तो कदम सच्याउनुपर्ने बताए।

त्यसैगरी सांसद रामकुमारी झाँक्रीले सुशासन र सेवा प्रवाहका नाममा नागरिकलाई त्रसित बनाउने काम हुन नहुने बताइन्। उनले कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन्।

सांसद रेखाकुमारी झाले सरकारको नीति तथा कार्यक्रमले जनतामा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गर्दै रोजगारी सिर्जना र विकासलाई प्राथमिकता दिन आग्रह गरिन्।

सांसद रोशनी मेचेले देशमा हत्या, ठगी तथा अनलाइन अपराध बढिरहेको भन्दै शान्तिसुरक्षाको अवस्था कमजोर बन्दै गएको बताइन्। उनले गृहमन्त्रालयले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप समेत लगाइन्।

यस्तै, सांसद सम्झना देवकोटाले जेनजी प्रदर्शनसँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्।

सांसद सोमनाथ पोर्तेलले भारतको तुलनामा नेपालमा डिजेल, पेट्रोल र एलपी ग्यासको मूल्य धेरै महँगो हुँदा पनि नेपाल आयल निगम घाटामा रहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराए।

 

ads
ads
add
banner add

सम्बन्धित खबर