काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङ फेरि फरार भएपछि कारागारको सुरक्षा प्रणालीमाथि प्रश्न उठ्न थालेको छ । देशकै सबैभन्दा सुरक्षित मानिने कारागारबाट उनी दोस्रोपटक भाग्न सफल भएपछि सुरक्षा संयन्त्रको प्रभावकारितामाथि बहस सुरु भएको हो ।
प्रहरी निगरानी, काँडेतार तथा कडा सुरक्षा व्यवस्थाबीच कैदी कसरी उम्किन सफल भइन् भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२५ वर्षीया सपना तामाङ बालिका हत्या, अपहरण तथा डाँकाचोरीसम्बन्धी मुद्दामा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेकी थिइन् । उनी यसअघि पनि जेलबाट फरार भएकी थिइन् ।
यसअघि २०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा जेल प्रशासनले कैदीबन्दीलाई खुला स्थानमा निकालेको बेला उनी भागेकी थिइन् । फरार भएको करिब दुई महिनापछि उनलाई रसुवा प्रहरीले धुन्चेबाट पक्राउ गरेको थियो ।
सपना रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या प्रकरणमा दोषी ठहर भएकी हुन् । प्रहरी अनुसन्धानअनुसार सुनको टप लुटेपछि घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरेकी थिइन् ।
उक्त घटनापछि रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।
दोस्रोपटक पनि उनी कारागारबाट फरार हुन सफल भएपछि जेलभित्रको सुरक्षा व्यवस्था र प्रहरी–कारागार समन्वयमाथि थप प्रश्न उठ्न थालेका छन् ।