काठमाडौं : जिल्ला प्रहरी परिसर
काठमाडौंले राजधानीका विभिन्न क्षेत्रमा सक्रिय गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको
सूची तयार गरेको छ। प्रहरीले एक हजार ८७१ जनाको विवरण संकलन गरी सूची बनाएको
जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा
परिसरका प्रवक्ता एसपी पवन भट्टराईले कुनै क्षेत्रमा गुण्डागर्दीका घटना भएमा
संलग्न व्यक्तिको पहिचान र अनुसन्धानलाई सहज बनाउन सूची तयार गरिएको जानकारी दिए।
प्रहरीका अनुसार उक्त सूचीलाई नियमित
रूपमा अद्यावधिक गरिनेछ र आवश्यकताअनुसार अनुसन्धान तथा निगरानीमा प्रयोग गरिनेछ।
त्यसैगरी, प्रहरीले पछिल्लो एक वर्षमा
काठमाडौंमा दुई हजार ३२५ वटा साइबर ठगी सम्बन्धी उजुरी दर्ता भएको तथ्यांक पनि
सार्वजनिक गरेको छ।
प्रहरीले साइबर अपराध र संगठित
आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी तथा अनुसन्धानलाई थप
प्रभावकारी बनाइएको जनाएको छ।