गोरखा- गोरखाका किसानहरुले गत बर्षको तुलनामा यो बर्ष १ करोड १५ लाख रुपैयाँ बढीको लिची बिक्री गरेका छन् ।
गत बर्ष जिल्लाबाट १० करोडको लिची बिक्री भएकोमाा यस बर्ष ११ करोड १५ लाख रुपैयाँ बराबरको लिची बिक्री भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकास बस्ताकोटीले जानकारी दिए ।
यो बर्ष अनुकुल मौसम भएकोले पनि किसानले बढी उत्पादन भएको उनले बताए ।
प्रमुख बस्ताकोटीका अनुसार गत बर्षको तुलनामा यो बर्ष ७.५ प्रतिशतले उत्पादनमा बृद्वि भएको हो ।
गएको बर्ष १८० हेक्टर क्षेत्रमा १ हजार ५९७.३२ मेट्रिक टन लिची उत्पादन हुदा गोरखाका किसानहरुले कम्तीमा पनि १० करोड रुपैयाँ जिल्लामा भित्राउन सफल भएको थियो भने यो बर्ष १८७ हेक्टर जमिनमा १ हजार ७१६.६६ मेट्रिक टन लिची उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।
उत्पादित लिची गत बर्षकै औषत मूल्य ६५ रुपैयाँ प्रति केजी बिक्री गर्दा पनि किसानहरुले ११ करोड १५ लाख रुपैयाँ हातपार्न सफल भएको प्रमुख बस्ताकोटीले जानकारी दिए ।