बिहि, १४ जेठ २०८३ / May 28, 2026, Thursday
बिहि, १४ जेठ २०८३
Advertisement
banner add

फ्री भिसामा ३ लाख असुल्न खोज्ने म्यानपावर एजेन्ट पक्राउ, सप्तरीका युवक मलेसिया जान पाए

banner add
writter
आइत, ०३ जेठ २०८३
(Shares)


सप्तरीका अजयकुमार यादव सेक्युरिटी गार्डको रोजगारीका लागि मलेसिया जान तयारी अवस्थामा थिए । उनको उडान वैशाख २९ गतेका लागि तय भइसकेको थियो । सरकारले लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार म्यानपावर कम्पनीलाई अधिकतम १० हजार रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था भए पनि उनले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए ।

तर, कोटेश्वरस्थित ‘ग्रान्ड स्वीट जब’ नामक म्यानपावर कम्पनीले थप ३ लाख रुपैयाँ नतिरेसम्म विदेश पठाउन नसकिने अडान लिएपछि यादवको वैदेशिक रोजगारीको सपना अधुरै बन्न पुगेको थियो । रोजगारदाता कम्पनीबाट भिसा र टिकट आइसकेको भए पनि रकम अभावका कारण उनी निर्धारित मितिमा उड्न सकेनन् ।

म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ बुझाए जेठ ३ गते मलेसिया पठाइदिने बताएपछि यादवले विभिन्न ठाउँबाट रकम जुटाउने प्रयास गरे । त्यसपछि उनी शनिबार बिहान काठमाडौं आइपुगेका थिए ।

काठमाडौं पुगेपछि म्यानपावरका एक कर्मचारीले उनलाई फोन गरी राहदानी र अन्य कागजात आफूसँग रहेको भन्दै तीनकुनेस्थित गैरीगाउँको पेट्रोलपम्प अगाडि पैसा लिएर आउन निर्देशन दिएका थिए ।

यसबीच यादवले आफू ठगिएको गुनासो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा पुर्‍याएका थिए । उनी मन्त्री यादवकै निर्वाचन क्षेत्रका नागरिकसमेत हुन् ।

घटनाबारे जानकारी पाएपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव आफैं सक्रिय बने । केही सञ्चारकर्मी र प्रहरी टोलीसहित उनीहरू तीनकुनेस्थित भेट हुने स्थानमा पुगेका थिए ।

त्यहाँ पुगेपछि म्यानपावरका कर्मचारीले अजयसँग रकम मागेका थिए । अजयले भने राहदानी र कागजात पाएपछि मात्रै पैसा दिने अडान लिए । दुवै पक्षबीच केहीबेर विवाद भएपछि प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ती कर्मचारीले ‘फ्रि भिसा, फ्रि टिकट’ प्रणालीअन्तर्गत १० हजार रुपैयाँमै हुने प्रक्रियामा ३ लाख रुपैयाँ मागिएको स्वीकार गरेका थिए । त्यसपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको साथबाट चार वटा राहदानी, हवाई टिकट र अन्य महत्वपूर्ण कागजातसमेत बरामद गरिएको छ । प्रहरीका अनुसार ती कागजात सम्बन्धित व्यक्तिबाट रकम उठाएर मात्र फिर्ता गर्ने योजना बनाइएको देखिएको छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीको नाममा सर्वसाधारण कामदारलाई ठगी गर्ने र सरकारले तोकेको शुल्कभन्दा लाखौं रुपैयाँ असुल्ने प्रवृत्तिविरुद्ध कडा कारबाही गरिने जनाएको छ ।

मन्त्री यादवका स्वकीय सचिव सरोज यादवले एक निर्दोष नेपालीलाई ठगीबाट जोगाउन सफल भएको उल्लेख गर्दै यस कार्यमा सहयोग गर्ने प्रहरी टोलीलाई धन्यवाद दिएका छन् ।

यादवले झापास्थित शाखा कार्यालयमार्फत मलेसिया जाने सम्पूर्ण प्रक्रिया पूरा गरेका थिए । तर अन्तिम समयमा म्यानपावरले ३ लाख १० हजार रुपैयाँ माग गर्दै राहदानी, श्रम स्वीकृति र टिकट रोकेर राखेको आरोप लागेको छ ।

पीडित यादवले आफूलाई सुरुवातमा कुनै अतिरिक्त शुल्क नलाग्ने भनिए पनि भिसा आएपछि ठूलो रकम माग्दै धम्की दिन थालिएको बताएका छन् । उनले ऋण खोजेर पैसा जुटाउन बाध्य भएको उल्लेख गर्दै यस्ता ठगीमा संलग्नमाथि कडा कारबाही हुनुपर्ने माग गरे ।

प्रहरीको हस्तक्षेपपछि यादवको राहदानी, श्रम स्वीकृति, बीमा र हवाई टिकट फिर्ता गरिएको छ । अब उनी आइतबार मलेसिया जान पाउने सुनिश्चित भएको जनाइएको छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा कुनै समस्या परेमा सिधै मन्त्रालयमा सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ । पक्राउ परेका एजेन्टमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर