गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ६, जय डाँडास्थित मरासिनी कुलायन मन्दिरले मन्दिर निर्माणमा लागेको खर्च र आम्दानीको सम्पूर्ण विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको छ। मन्दिर निर्माण तथा व्यवस्थापनमा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले अध्यक्ष तिलक मरासिनीले बैंक स्टेटमेन्टसहितको हिसाबकिताब प्रस्तुत गरेका हुन्।
यसअघि मन्दिरको आर्थिक कारोबार तिलक भुवनेश्वर मरासिनीको नाममा ग्लोबल आइएमई बैंकमा रहेको जोइन्ट खातामार्फत हुँदै आएको थियो। सार्वजनिक गरिएको विवरण अनुसार, उक्त खाताको सम्पूर्ण हरहिसाब फरफारक गरी हाल उक्त खाता विधिवत रूपमा बन्द गरिएको छ।
पुरानो खाता बन्द गरिएसँगै अब मन्दिरको सम्पूर्ण आर्थिक कारोबार संस्थागत रूपमै गर्न 'मरासिनी कुलायन मन्दिर, जय डाँडा' को नाममा गरिमा विकास बैंकमा नयाँ खाता सञ्चालनमा ल्याइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। ग्लोबल आइएमई बैंकको पुरानो खातामा बाँकी रहेको सम्पूर्ण रकम गरिमा विकास बैंकको नयाँ खातामा सुरक्षित रूपमा जम्मा गरिसकिएको अध्यक्ष मरासिनीले जानकारी दिए।
सहयोगका लागि अपिल
मन्दिर निर्माण, संरक्षण तथा व्यवस्थापनमा आर्थिक सहयोग गर्न चाहने श्रद्धालु भक्तजन तथा दाताहरूका लागि सहजता ल्याउन समितिले नयाँ व्यवस्था समेत गरेको छ। अब सहयोग गर्न इच्छुक महानुभावहरूले गरिमा विकास बैंकमा रहेको मन्दिरको नयाँ खाताको QR स्क्यान गरेर सिधै रकम जम्मा गर्न सक्नेछन्।
आफ्नो कुलदेवताको मन्दिर निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण दाताहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा समितिले राखेको छ।