देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको छ।
हाल कोशी प्रदेशको तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि यस्तै प्रकृतिको वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्छ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ।