नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले वर्तमान सत्तापक्षले देश सञ्चालन गर्न नसक्ने हो भने जिम्मेवारी प्रतिपक्षलाई दिनुपर्ने चेतावनी दिएका छन्। उनले “हामीले पहिला पनि देश चलाएका हौँ, अब पनि चलाउन सक्छौँ, तर संसदको परम्परा र थिति भने बदल्न पाइँदैन” भन्दै स्पष्ट धारणा राखे।
मंगलबार प्रतिनिधि
सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा
अर्थमन्त्री अनुपस्थित भएपछि उनले कडा आपत्ति जनाए। छलफल प्रस्तुत गर्ने मुख्य
व्यक्ति नै उपस्थित नभएको भन्दै उनले रोस्ट्रममै उभिएर नबोल्ने घोषणा गरे।
राईले प्रस्ताव
ल्याउने मन्त्री नै बैठकमा नआएपछि आफ्नो धारणा राख्नुको औचित्य नरहेको बताएका थिए।
साथै उनले संसदमा स्थापित प्रक्रिया र परम्परा परिवर्तन गर्न नहुनेमा जोड दिँदै
अर्थमन्त्री उपस्थित नभएसम्म नबोल्ने अडान लिएका थिए।
उनले प्रधानमन्त्री र
अर्थमन्त्रीले संसदलाई गम्भीर रूपमा नलिएको आरोपसमेत लगाएका छन्।