काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) ले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न, स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिअनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलपछि सुरक्षा व्यवस्था सुदृढ पार्ने तथा घटनामा संलग्नमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएकाले संघले तत्कालका लागि तय गरिएको आन्दोलन स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
यद्यपि, संघले सरकारलाई सात दिनभित्र आफ्ना माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ। तोकिएको अवधिमा माग पूरा नभए देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै स्वास्थ्य सेवा बन्द गरी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ।
नेपाल चिकित्सक संघले आन्दोलनका कारण सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै स्वास्थ्यकर्मीको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ।