बेलायतमा बसोबास गर्ने नेपाली समुदायको संलग्नता आपराधिक क्रियाकलापमा क्रमशः बढ्दै गएको तथ्यांक र घटनाले देखाएको छ। हालैका वर्षहरूमा ठगी, गैरकानुनी श्रम, घरेलु हिंसा, र समूहगत झगडाजस्ता घटनामा नेपाली मूलका व्यक्तिहरूको संलग्नता सार्वजनिक भइरहेका छन्।
बेलायतको लुटन र हाइवेकम आसपासमा ड्रग आपूर्ति गरेको अभियोगमा एक नेपाली गत महिना जेल चलान भए । लुटन टोम्लिन्सन एभेन्यू निवासी २७ वर्षीय निखिल लामालाई एल्सबरी क्राउन कोर्टले २ वर्षको जेल सजाय सुनाएको हो ।
हाइवेकमस्थित किचनर रोडमा ड्रग सप्लाई गर्दै गरेको अवस्थामा थेम्स भ्याली प्रहरीले लामालाई गतवर्ष २८ अक्टुबरमा पक्राउ गरि अभियोग लगाएको थियो ।
स्थानीय प्रहरीका अनुसार, आर्थिक संकट, बेरोजगारी, तथा समाजमा घुलमिल हुन कठिनाइ जस्ता कारणले केही नेपाली युवाहरू आपराधिक समूहमा आकर्षित भइरहेका छन्। साथै, बेलायतको कानूनी प्रणाली र त्यसको दुरुपयोगबारे पर्याप्त जानकारीको अभावले पनि आपराधिक गतिविधि बढ्न सहयोग पुर्याइरहेको बताइन्छ।
बेलायतमा एकपटक अपराध गरेपछि त्यसको अभिलेख पछिसम्म रहने कानूनविद्हरु बताउँछन् ।
‘यसले घर किन्न मोर्गेज लिनदेखि जागिर खान, स्थायी आवासीय भिसा लिन वा अरु काममा समेत नराम्रो असर गर्छ’, सोलिसिटर राजु थापाले भने, ‘बेलायतमा कानूनभन्दा माथि कोही छैन । कसैले पनि आक्रोशमा आएर हातपात, यौन दुव्र्यवहार, चोरी ठगी वा अध्यागमन कानून उल्लंघन नगर्नु होला ।’
नेपाली दूतावासले बेलायतमा रहेका नेपालीहरूलाई कानुन पालन गर्न र विवाद समाधानका लागि कानुनी बाटो अपनाउन आग्रह गर्दै आएको छ। समुदायका अगुवाहरूले समेत आपसी सहयोग, कानुनी सचेतना कार्यक्रम र युवाहरूलाई रोजगारी तथा सीप विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
विशेषज्ञहरूका अनुसार, यदि समयमै सचेतना र नियन्त्रणका उपायहरू लागू गरिएन भने यो प्रवृत्ति दीर्घकालीन रूपमा नेपाली समुदायको छविमा नकारात्मक असर पार्न सक्छ।