काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अन्ततः जारी गरेका छन्। यसअघि मन्त्रिपरिषद्को सिफारिसमा आएका आठ अध्यादेशमध्ये सात वटा स्वीकृत गरेका उनले उक्त अध्यादेश भने पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए।
सरकारले फेरि सोही अध्यादेशलाई जस्ताकोतस्तै रूपमा मन्त्रिपरिषद् बैठकबाट पारित गर्दै राष्ट्रपतिसमक्ष पुनः सिफारिस गरेको थियो। त्यसपछि राष्ट्रपतिले मंगलबार उक्त अध्यादेश जारी गरेका हुन्।
नयाँ व्यवस्थाअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न कम्तीमा चार जना सदस्य उपस्थित भए पुग्नेछ। साथै, उपस्थित सदस्यहरूको बहुमतका आधारमा निर्णय गर्न सकिने प्रावधान राखिएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद् ६ सदस्यीय निकाय हो। परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष सदस्य रहने व्यवस्था छ।
सरकारले ल्याएको यो अध्यादेशसँगै परिषद्को निर्णय प्रक्रिया सहज बनाउने प्रयास भएको जनाइएको छ।