काठमाडौं । प्रभु बैंकले
कार्यसम्पादनमा कमजोरी, बैंकिङ नियम
उल्लङ्घन तथा अनधिकृत गतिविधिमा संलग्न भएको भन्दै चार कर्मचारीमाथि अनुशासनात्मक
कारबाही गरेको छ। कारबाहीमा चिफ बिजनेस अफिसर रश्मी पन्त र सुगेन शाक्य सेवाबाट
बर्खास्त भएका छन् भने अन्य दुई कर्मचारीको बढुवा रोक्का तथा पद घटुवा गरिएको छ।
बैंकका चिफ बिजनेस अफिसर पन्तले
आवश्यक कानुनी कागजात र सुरक्षा प्रक्रिया पूरा नगरी एमएस एसियन भिलेज रिसोर्ट
प्रालिलाई कर्जा प्रवाह गरेको आरोपमा कारबाही भोगेकी हुन्। उनलाई गत कात्तिक २०
गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको बैंकले जनाएको छ।
त्यस्तै, सुगेन शाक्यले प्रभु ग्रुप इन्कबाट रेमिट्यान्स कारोबारका
क्रममा प्रस्तुत गरिएको स्ट्यान्डबाई लेटर अफ क्रेडिट (एसबीएलसी) तथा वित्तीय
जमानत स्वीकार गर्दा बैंकिङ नियम र प्रक्रिया पालना नगरेको ठहर गरिएको छ। उक्त
कार्यले बैंकलाई ठूलो वित्तीय जोखिम तथा कानुनी दायित्व सिर्जना गर्न सक्ने
देखिएपछि उनलाई पनि कात्तिक २० गतेदेखि लागू हुने गरी बर्खास्त गरिएको हो।
बैंकले सुदिप श्रेष्ठमाथि पनि
अनुशासनात्मक कारबाही गरेको छ। सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि
जनाउँदै उनले कर्मचारीहरूको ठूलो समूहलाई अनधिकृत रूपमा इमेल पठाएको भन्दै
कर्मचारी विनियमावलीअनुसार सहायक पदबाट जुनियर सहायकमा एक तह घटुवा गरिएको छ।
अर्का कर्मचारी मधुसूदन न्यौपानेले
स्थापित कार्यविधि पालना नगरी कार्यगत कमजोरी देखाएको भन्दै उनको दुई वर्षसम्म
बढुवा रोक्का गरिएको बैंक स्रोतले जानकारी दिएको छ।
बैंकभित्रको अनुशासन, वित्तीय जोखिम व्यवस्थापन तथा संस्थागत कार्यविधि पालनामा
कमजोरी देखिएपछि प्रभु बैंकले चार कर्मचारीमाथि कारबाही गरेको हो।