प्रतिनिधिसभाको नयाँ नियमावलीमा मन्त्री अनुपस्थित भए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था समेटिने भएको छ। यससम्बन्धी प्रस्ताव सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिने तयारी गरिएको छ।
प्रतिनिधिसभा
नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा
समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव
संसद् बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।
मस्यौदा
नियमावलीको नियम १७८ मा संसदीय विषयगत समितिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ। सोही नियमको उपनियम ४ अनुसार
विधेयकमाथिको छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहने उल्लेख छ। तर अन्य
कार्यसूचीका विषयमा भने आवश्यकता अनुसार मात्रै मन्त्री उपस्थित हुनुपर्ने
व्यवस्था प्रस्ताव गरिएको छ।
हाल लागू
प्रतिनिधिसभा नियमावली, २०७९ मा भने समितिका सबै प्रकारका छलफलमा
मन्त्री उपस्थित हुनुपर्ने प्रावधान छ। यही व्यवस्थाका कारण मन्त्रीको समय नमिल्दा
धेरै पटक समितिका बैठक प्रभावित हुने गरेका थिए।
नयाँ प्रस्तावित
व्यवस्थाले यस्तो समस्या हटाउने अपेक्षा गरिएको छ। विशेषगरी विधेयकसम्बन्धी छलफलमा
मात्रै मन्त्रीको उपस्थिति अनिवार्य बनाएर अन्य विषयमा समितिलाई स्वतन्त्र रूपमा
बैठक सञ्चालन गर्न सहज बनाउने उद्देश्य रहेको बताइएको छ।
राष्ट्रिय
स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूका अनुसार मन्त्रीको व्यस्तताका कारण
समितिका काम रोकिँदै आएको अवस्थालाई सुधार गर्न यो व्यवस्था ल्याउन लागिएको हो।
उनीहरूले यसबाट संसदीय समितिको कामकारबाही थप प्रभावकारी र नियमित हुने विश्वास
व्यक्त गरेका छन्।