काठमाडौँ ।अमेरिकन कर्नर भैरहवाले नेपालको तीव्र गतिमा विस्तार भइरहेको चलचित्र तथा
मनोरञ्जन उद्योगमा सफल करियर निर्माणका विषयमा उदीयमान रचनात्मक प्रतिभासँग
अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चर्चित नेपाली अभिनेत्री तथा
निर्मात्री प्रियंका कार्कीले सहभागीहरूसँग आफ्नो अनुभव र सिकाइ साझा गरिन्।
अभिनेत्री तथा निर्मात्रीका रूपमा
आफूले हासिल गरेको अनुभव प्रस्तुत गर्दै कार्कीले रचनात्मक क्षेत्रमा जोखिम लिन
सक्ने क्षमता, समयअनुसार परिवर्तनसँग अनुकूलन, व्यावसायिक पहिचान निर्माण तथा प्रतिभालाई दिगो करियरमा
रूपान्तरण गर्ने विषयमा चर्चा गरिन्।
कार्यक्रममा सहभागी युवाहरूले
उद्यमशीलता, करियर विकास तथा तीव्र रूपमा परिवर्तन
भइरहेको रचनात्मक उद्योगमा उपलब्ध अवसरबारे कार्कीबाट प्रत्यक्ष अनुभव र
व्यावहारिक सुझाव प्राप्त गरेका थिए।
अमेरिकन स्पेसले यस्ता
कार्यक्रममार्फत युवाहरूलाई विभिन्न क्षेत्रका उद्योग नेतृत्वकर्ता, व्यावसायिक सञ्जाल तथा व्यवहारिक ज्ञानसँग जोड्दै उनीहरूका
सिर्जनात्मक विचारलाई करियर र उद्यमशीलताको अवसरमा रूपान्तरण गर्न सहयोग गर्दै
आएको जनाएको छ।
नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ
बनाउने तथा साझा आर्थिक अवसर र समृद्धिमा योगदान पुर्याउने उद्देश्यले अमेरिकन
स्पेसले नियमित रूपमा विचार आदानप्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना
गर्दै आएको छ।