बुटवल । बुटवल उपमहानगरपालिका–मोतिपुर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासी बस्ती हटाउने तयारीको विरोध गर्दै सडकमा उत्रिएका छन् । मोतिपुर औद्योगिक क्षेत्र विस्तारका लागि जग्गा खाली गराउन निर्देशन आएपछि उनीहरूको असन्तुष्टि चर्किएको हो ।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ‘डोजर आतंक अन्त्य गर’, ‘सुकुम्वासी हुनु बाध्यता हो, रहर होइन’ र ‘सामाजिक सञ्जाल होइन, समस्या समाधान गर’ लगायतका नारा लगाएका थिए । उनीहरूले पुनर्वासको सुनिश्चितता बिना बस्ती हटाउने कदम अन्यायपूर्ण भएको भन्दै आपत्ति जनाएका छन् ।
स्थानीयहरूको भनाइमा, पूर्व सूचना र विकल्पबिना जग्गा खाली गर्न भनिएपछि आफूहरू असुरक्षित महसुस गरिरहेका छन् । “हामीलाई बसोबासको वैकल्पिक व्यवस्था नगरी हटाउनु ठीक हुँदैन,” एक प्रदर्शनकारीले बताए, “पहिला पुनर्वासको स्पष्ट व्यवस्था हुनुपर्छ।”
विरोध कार्यक्रममा महिला, ज्येष्ठ नागरिक र युवाहरूको बाक्लो सहभागिता देखिएको थियो । उनीहरूले सरकारलाई दीर्घकालीन र व्यवहारिक समाधान खोज्न आग्रह गरेका छन् । उता, सरकारी निकायले भने औद्योगिक क्षेत्र विस्तारका लागि अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको बताएको छ ।