काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत
आफ्नो पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध निराशाजनक ब्याटिङ
गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३
ओभरमा ११५ रनमै अलआउट भएको हो ।
काठमाडौंको ब्याटिङ लाइनअप ध्वस्त पार्न जनकपुरका राहुल
यादवले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । राहुलले
काठमाडौंका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद
आदिल आलमलाई आउट गरे ।
जनकपुरका लागि सैफ हसनले दुई विकेट लिए भने मोइन अली, कप्तान
हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे । ब्याटिङमा काठमाडौंका भीम
सार्कीले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २९ बलमा चार चौका प्रहार गरे । तर, अन्य
ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा काठमाडौं ठूलो योगफल बनाउन असफल भयो ।
खेलको सुरुवातदेखि नै दबाबमा परेको काठमाडौंले ६ रन बनाउँदा
साम हिजलेटलाई गुमाएको थियो । साम एक रनमा आउट भए भने १९ रनको अवस्थामा हरिशंकर
शाह नौ रन बनाएर पभेलियन फर्किए ।
त्यसपछि पनि विकेट पतनको क्रम रोकिएन । रसिद खानले १७, स्मित
पटेलले १३ र सुमित महर्जनले १० रन बनाए । कप्तान करण केसी आठ तथा जहानदाद खान पाँच
रनमा आउट भए । मोहम्मद आदिल आलम पहिलो बलमै एलबीडब्लूको सिकार बने । रिपोन
मोन्डलले नौ रन बनाए भने शाहव आलम चार रनमा अविजित रहे ।
काठमाडौंले यस सिजनका लागि अनुबन्ध गरेका अस्ट्रेलियाली खेलाडी डेभिड वार्नर भने पहिलो खेलमा मैदानमा छैनन् । उनी आइतबार मात्रै नेपाल आइपुग्ने बताइएको छ । यस खेलमा काठमाडौंले रिपोन मोन्डल र जहानदाद खानलाई मैदानमा उतारेको छ, जसको अनुबन्धबारे यसअघि औपचारिक घोषणा गरिएको थिएन ।
यता, जनकपुरले आफ्नो टोलीमा यसअघि पहिलो खेल
खेलेका जिम्मी निशमलाई भने यसपटक बेन्चमा राखेको छ ।अब काठमाडौंले दिएको ११६ रनको
लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्स जितको खोजीमा मैदान उत्रनेछ ।