काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रनको योगदान दिए। उनले ५ छक्का र ५ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। त्यस्तै, रवि बोपारा ३२ रन र डान मोस्ली २९ रनमा अविजित रहे। देव खनालले १२ रन जोडे।
विराटनगरका बलरमध्ये एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए।
अब विराटनगर किंग्सले जितका लागि निर्धारित २० ओभरमा १५८ रन बनाउनुपर्नेछ।