काठमाडौं । कोशी प्रदेशदेखि लुम्बिनीसम्म परेको वर्षाले धेरै स्थानमा गर्मीबाट केही राहत दिलाएको छ । तर लुम्बिनी प्रदेशदेखि पश्चिमतर्फका तराई क्षेत्रमा भने अझै गर्मीको प्रभाव कायमै रहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि पश्चिम नेपालका तराई भूभागमा पनि वर्षा हुने सम्भावना रहेकाले त्यहाँको तापक्रममा केही कमी आउने अनुमान गरिएको छ।
महाशाखाले दिएको जानकारीअनुसार भोलि देशका सबै प्रदेशका तराई तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको समेत सम्भावना रहेको जनाइएको छ।
विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो मौसमको प्रभाव यथावत् रहनेछ। तर मंगलबारदेखि सुरु हुने वर्षापछि मौसम केही शीतल बन्ने अपेक्षा गरिएको छ।