काठमाडौं । आज र भोलि देशका अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी केही स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुनसक्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग ले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लालाई पहेँलो संकेत (यलो अलर्ट) जारी गर्दै वैशाख १५ र १६ गते मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा तथा अन्य काम गर्न आग्रह गरेको छ।
विभागका मौसमविद् सरोज पुडासैनी का अनुसार यी दुई दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना पनि रहेकाले त्यहाँका बासिन्दालाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
उनका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुनसक्छ। कोशीका पहाडी तथा हिमाली भूभाग र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना देखिएको छ।
यस्तै वैशाख १६ गते पनि मौसममा सुधार नआउने र वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा हुनसक्ने विभागले जनाएको छ।
बुधबार कोशी र मधेशका एक–दुई स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागका सीमित क्षेत्रमा भारी वर्षा हुनसक्ने अनुमान छ।
मौसमविद्हरूका अनुसार यो वर्षाले केही दिनदेखि कायम गर्मी, डढेलो र वायु प्रदूषण घटाउन मद्दत पुग्नेछ। पश्चिम तराईका क्षेत्रमा लामो समय पानी नपर्दा बढेको गर्मीलाई पनि यस वर्षाले केही राहत दिने अपेक्षा गरिएको छ।
हाल गण्डकी प्रदेशअन्तर्गत लमजुङ, कास्की, पर्वत, स्याङ्जा तथा बागमती प्रदेशको नुवाकोट का केही स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ। लमजुङको बेँसीसहर क्षेत्रमा एक घण्टामै १२.२ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन मध्यम स्तरको वर्षा मानिन्छ।