गुल्मी (तम्घास): स्थानीय सरकारले चाह्यो भने जनजीविकामा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने गतिलो उदाहरण गुल्मीको रेसुङ्गा नगरपालिका बनेको छ। नगरप्रमुख खिलध्वज पन्थीको नेतृत्वमा पछिल्लो समय तम्घास बजार र समग्र नगरपालिकाको पूर्वाधार, स्वास्थ्य सेवा र पर्यटन प्रवर्द्धनमा उल्लेख्य सुधार आएपछि नागरिकस्तरबाट यसको उच्च प्रशंसा हुन थालेको छ।
देशभरका उत्कृष्ट नगरपालिकाहरूको सूचीमा पाँचौं स्थानमा पर्न सफल रेसुङ्गाले विशेषगरी स्वास्थ्य र सडक पूर्वाधारमा मारेको फड्कोले सर्वसाधारणलाई प्रत्यक्ष राहत दिएको छ।
स्वास्थ्य सेवामा ऐतिहासिक सुधार: डायलासिस र विशेषज्ञ सेवा सबैभन्दा ठूलो परिवर्तन गुल्मी अस्पतालको सेवा प्रवाहमा देखिएको छ। विगतमा सामान्य शल्यक्रिया वा डायलासिसका लागि बुटवल र काठमाडौं धाउनुपर्ने बाध्यता अहिले अन्त्य हुँदै गएको छ। नगरप्रमुख पन्थीको विशेष पहलमा अस्पतालमा डायलासिस मेसिनको संख्या ५ बाट बढाएर ८ पुर्याइएको छ। यसले गर्दा वर्षौंदेखि सास्ती खेप्दै आएका मृगौला पीडित र उनीहरूका परिवारले आफ्नै गृहजिल्लामा सहज उपचार पाएका छन्।
त्यसैगरी, नगरपालिकाले गुल्मी अस्पतालमा विशेषज्ञ सेवाको निरन्तरताका लागि ऐतिहासिक कदम चालेको छ। हाडजोर्नी, स्त्रीरोग, बालरोग, इन्टर्नल मेडिसिन र आकस्मिक सेवासहित ६ जना विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन (इन्सेन्टिभ) उपलब्ध गराउने सम्झौता नगरपालिकाले गरेको छ। साथै, शल्यक्रियालाई थप सुरक्षित र प्रभावकारी बनाउन नगरपालिकाकै तर्फबाट ३३ लाख रुपैयाँ बराबरको अत्याधुनिक एनेस्थेसिया मेसिन समेत अस्पताललाई हस्तान्तरण गरिएको छ। श्वासप्रश्वासका बिरामीहरूका लागि घरमै अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने नगरपालिकाको कार्यले धेरैको ज्यान बचाउन मद्दत पुगेको छ।
पूर्वाधार र बजार सुन्दरीकरण तम्घास बजारको भौतिक स्वरूपमा पनि आमूल परिवर्तन आएको छ। बजार क्षेत्रका सडकहरू कालोपत्रे हुनुका साथै सुरक्षित आवागमनका लागि जेब्रा क्रसिङ, स्पिड ब्रेकर र सडक बत्तीको उचित व्यवस्थापन गरिएको छ।
यसअघि सडकका पोलहरूमा अव्यवस्थित रूपमा रहेका विद्युतीय तारहरूलाई हटाएर सुरक्षित 'एबीसी केबल' जडान गरिएको छ, जसले बजारको सौन्दर्य बढाउनुका साथै जोखिमसमेत न्यूनीकरण गरेको छ। अर्घाखाँची–जिपपार्कदेखि खाम्सेपानीसम्मको सडक पिच कार्य सम्पन्न हुनुलाई स्थानीयले नगरको अर्को ठूलो सफलता मानेका छन्।
पर्यटन प्रवर्द्धन: ‘जाऔँ हिँड रेसुङ्गा’ पर्यटन विकासलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ। 'जाऔँ हिँड रेसुङ्गा' अभियानमार्फत नगरको प्रचारप्रसार तीव्र पारिएको छ। बजार क्षेत्रमा कलात्मक प्रतीक्षालय, वाल पेन्टिङ र पर्यटकीय जानकारी दिने बोर्डहरू राखिएका छन्। यसैगरी, साहसिक पर्यटनलाई बढावा दिन रेसुङ्गाको गर्जुरा क्षेत्रमा जीपलाइन र स्काइ–साइकलिङको निर्माण कार्य सुरु गरिएको छ।
आगामी लक्ष्य: जिल्लामै सम्पूर्ण उपचार नगरपालिकाको नेतृत्वले गुल्मी अस्पतालमा आईसीयू (ICU) सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ। स्थानीय नागरिकहरूले पनि जनरल सर्जनको अनिवार्य व्यवस्था गरी किड्नी र पित्तथैलीको पत्थरी, एपेन्डिसाइटिस, हर्निया, पाइल्स जस्ता रोगहरूको शल्यक्रिया जिल्लामै हुनुपर्ने माग राख्दै आएका छन्।
कुनै पनि राजनीतिक दल वा स्वार्थभन्दा माथि उठेर नागरिकको स्वास्थ्य र सुविधालाई पहिलो प्राथमिकतामा राख्ने नगरप्रमुख पन्थीको कार्यशैलीले जनप्रतिनिधिप्रतिको जनविश्वासलाई थप बलियो बनाएको स्थानीय बासिन्दाहरूको भनाइ छ। कामले नै नगरको पहिचान बदल्न सकिन्छ भन्ने कुरा आज तम्घासले प्रमाणित गरिरहेको छ।