काठमाडौं । समस्याग्रस्त सहकारी संस्थामा फसेका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया आगामी जेठ महिनाको पहिलो सातादेखि सुरु हुने भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार सार्वजनिक गरेको कार्ययोजनाअनुसार पहिलो चरणमा दाबी गरिसकेका बचतकर्ताहरूलाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिनेछ ।
समितिले माग दाबी गर्न छुटेका बचतकर्ताहरूका लागि पनि अवसर दिने जनाएको छ । उनीहरूलाई आगामी साउन महिनाको पहिलो सातादेखि पुनः दाबी पेश गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
कर्जा असुलीलाई प्रभावकारी बनाउन समितिले कडा नीति अपनाउने भएको छ । किस्ताबन्दीमा ऋण तिर्न इच्छुक ऋणीहरूले लिखित प्रतिबद्धता जनाई केही रकम बुझाएमा थप समय दिइनेछ । तर, भुक्तानी नगर्ने ऋणीहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
त्यसैगरी, ऋण नतिर्ने व्यक्तिहरूको तीन पुस्तासम्मको नामावली सार्वजनिक गरिने र उनीहरूका परिवारका सदस्यहरूलाई समेत कालोसूचीमा राखिने समितिले स्पष्ट पारेको छ ।
हालसम्म समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ ।