काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्वास्थ्य तथा जनसंख्या विभागलाई केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने योजना अघि सारेको छ।
पार्टीकी स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीका अनुसार विभागलाई देशव्यापी रूपमा फैलाउँदै नीतिगत सुधारका कामहरू अगाडि बढाइनेछ। उनले भनिन्, “हामी स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिका स्तरसम्म विस्तार गर्दै व्यवस्थित नीतिगत हस्तक्षेपको तयारीमा छौं।”
डा. कार्कीले अस्पतालमा देखिने भीडभाड, महँगो उपचार प्रणाली तथा ग्रामीण क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीको अभावजस्ता समस्याको मूल कारण सेवा अभाव नभई स्वास्थ्य प्रणालीकै कमजोरी भएको बताइन्।
यसै समस्यालाई समाधान गर्न रास्वपाले आफ्नो विभागमार्फत सक्रिय रूपमा काम गरिरहेको जनाउँदै उनले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने लक्ष्य राखिएको उल्लेख गरिन्।
उनले यस अभियानका लागि विभिन्न क्षेत्रका विज्ञहरूको आवश्यकता रहेको बताउँदै डाक्टर, नर्स, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य प्रविधिका इन्जिनियर तथा व्यवस्थापकहरूलाई विभागमा सहभागी हुन आह्वान गरेकी छन्। साथै, देशको स्वास्थ्य अवस्था सुधार्न सबै सरोकारवालाहरूको एकता आवश्यक रहेको उनको भनाइ छ।