काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को
सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक
राजनीतिक घटनाक्रम, संगठन विस्तार, सरकारको
कामकारबाहीप्रति पार्टीको धारणा तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ बजे
पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा
बैठक बस्न लागेको हो ।
पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न
लागेको हो ।बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन
कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने
जनाइएको छ ।बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, संसद्मा पार्टीको
भूमिकालाई प्रभावकारी बनाउने विषय, जनसरोकारका
मुद्दामा पार्टीको दृष्टिकोण र संगठन सुदृढीकरणका कार्यक्रम मुख्य एजेन्डाका रूपमा
रहने नेताहरूले बताएका छन् ।
त्यसैगरी, स्थानीय तहदेखि केन्द्रसम्म पार्टी
संरचना व्यवस्थित गर्ने, सदस्यता विस्तार अभियानलाई तीव्रता दिने
तथा आगामी राजनीतिक कार्यक्रमबारे पनि सचिवालय बैठकमा निर्णय हुन सक्ने अपेक्षा
गरिएको छ ।
रास्वपाले पछिल्लो समय सुशासन, पारदर्शिता
र जनउत्तरदायी शासनको विषयलाई प्रमुख रूपमा उठाउँदै आएको छ । यही सन्दर्भमा बैठकले
सरकारका गतिविधिमाथि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीसमेत गरेको
बताइएको छ ।