नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव सक्रिय रहेकाले देशका अधिकांश भू-भागमा मौसम बदलीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै तराईका केही भागमा गर्मी बढ्ने र तातो दिनको अवस्था रहने सम्भावना पनि रहेको छ।
रातिको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्। यस्तो मौसमीय अवस्थाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ।
मनसुन सक्रिय हुने पूर्वसन्ध्यामा देखिएको यस प्रकारको मौसमी गतिविधिले प्राकृतिक विपद्को जोखिमसमेत बढाउन सक्छ। त्यसैले सम्बन्धित निकायले पूर्वतयारी र नागरिकहरूले आवश्यक सावधानी अपनाउनु समयको आवश्यकता हो।