काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरेको छ । सोमबार प्रकाशित नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो ।
गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । यसपटक सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन् । उक्त समूहमा ४८ हजार ३९२ विद्यार्थी रहेका छन् । त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २२२ जना छन् ।
यसैगरी, २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थी ५५ हजार ९७७ छन् । २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० विद्यार्थी रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ रहेको बोर्डले जनाएको छ ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै ७७ हजार ११३ विद्यार्थी ग्रेडेड भएका छन् । कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, गण्डकीमा २६ हजार ५५०, लुम्बिनीमा ४४ हजार २५६, कर्णालीमा १९ हजार ९५ तथा सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी वर्गीकृत भएका छन् ।
सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न दिएको निर्देशनअनुसार बोर्डले निर्धारित समयभन्दा एक दिनअघि नै नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । उनका अनुसार यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको हो ।
अघिल्ला वर्षहरूमा एसईईको नतिजा सार्वजनिक गर्न झन्डै तीन महिना लाग्ने गरेको थियो । विद्यार्थीमा अनावश्यक तनाव नहोस् भन्ने उद्देश्यले सरकारले यस वर्ष एक महिनाभित्र नतिजा प्रकाशन गर्ने नीति लिएको थियो ।
यस वर्षको नतिजा सुधार हुनुमा विद्यालय, शिक्षक र विद्यार्थीको संयुक्त प्रयास रहेको बोर्डको निष्कर्ष छ । प्राध्यापक डा. विद्यानाथ कोइरालाका अनुसार विद्यालयहरूले अतिरिक्त कक्षा सञ्चालन गर्नु, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुनु तथा पहिलेदेखि नै प्रश्नपत्रको मोडेल अभ्यास गराउनु नतिजा सुधारका मुख्य कारण हुन् ।
यद्यपि, यस वर्ष पनि १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् । तीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी रहेका छन् । कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ तथा सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।
नन–ग्रेडेड विद्यार्थीको भविष्यबारे राज्यले विशेष योजना बनाउनुपर्ने प्रा.डा. कोइरालाको भनाइ छ । उनले अनुत्तीर्ण विद्यार्थीलाई सीप र रोजगारीसँग जोड्ने कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
बोर्डले अनुत्तीर्ण विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन गर्ने जनाएको छ । साथै, नतिजामा चित्त नबुझेका विद्यार्थीलाई जेठ १ देखि ७ गतेसम्म पुनर्योगका लागि आवेदन दिने अवसर पनि दिइएको छ ।
यसपटक सामुदायिक र निजी विद्यालयको छुट्टाछुट्टै उत्तीर्ण प्रतिशत तथा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या भने बोर्डले सार्वजनिक गरेको छैन । परीक्षा नियन्त्रक अधिकारीका अनुसार ती विवरण पछि सार्वजनिक गरिनेछ ।