काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारमा रहेका सुकुमवासी बस्ती व्यवस्थापन अभियानलाई आइतबार पुनः अघि बढाएको छ। प्रहरीको सुरक्षा व्यवस्थाबीच महानगरको टोलीले अव्यवस्थित रूपमा बनेका घरटहरा हटाउने काम जारी राखेको हो।
अभियानका क्रममा अशक्त, बिरामी तथा जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको छ। यसै क्रममा एक महिलालाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा लगिएको दृश्य देखिएको छ।
यसअघि शनिबार बस्ती व्यवस्थापनका लागि पुगेको टोलीलाई स्थानीयवासीले विरोध गरेका थिए। विरोधका क्रममा ढुंगामुढा हुँदा केही सुरक्षाकर्मी घाइते भएपछि टोली फर्किएको थियो।
आइतबार बिहान पुनः पुगेको महानगरको टोलीले प्रहरी सुरक्षासहित संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ। बस्ती क्षेत्र वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसअघि महानगरपालिकाले थापाथली र गैह्रीगाउँ क्षेत्रमा पनि यस्तै व्यवस्थापन अभियान सञ्चालन गरेको थियो। सोही अभियानअन्तर्गत मनोहरा क्षेत्रका बस्ती खाली गराउने प्रक्रिया अघि बढाइएको हो।