प्रहरी स्रोतका अनुसार शहीदभूमि गाउँपालिका का विभिन्न क्षेत्रमा अवैध रूपमा गाँजा खेती हुँदै आएको छ । त्यहाँ उत्पादन हुने गाँजा सुनसरी, मोरङ र झापाका विभिन्न नाकामार्फत भारतीय बजारसम्म पुर्याइने गरिएको जनाइएको छ । तस्करहरूले कोशी नदीमा बगाएर ल्याइने बाँसको चेफासमेत गाँजा ओसारपसारका लागि प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सुनसरीसम्म ल्याइएको गाँजालाई भारतीय सीमा पार गराउन तस्करहरूले पछिल्लो समय एम्बुलेन्सलाई सुरक्षित माध्यमका रूपमा प्रयोग गर्न थालेका छन् ।
गत कात्तिक १९ गते जहदा गाउँपालिका–३ बाट गाँजा ढुवानीमा संलग्न एक एम्बुलेन्स, त्यसका चालक तथा स्कर्टिङमा प्रयोग गरिएको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा विराटनगर–५ निवासी ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र जहदा–३ का ३२ वर्षीय दिलिपकुमार राजवंशी रहेका छन् । उनीहरूले एम्बुलेन्समा ३३ किलो गाँजा लुकाएर भारतीय सीमातर्फ लैजान खोजेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
प्रहरीका अनुसार गाँजा तोकिएको स्थानसम्म पुर्याएबापत प्रतिकिलो एक हजार रुपैयाँसम्म भाडा पाइने भएकाले पछिल्लो समय तस्करीमा एम्बुलेन्ससहित विभिन्न सवारी साधनको प्रयोग बढ्दै गएको देखिएको छ ।