काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि देशका विभिन्न जिल्लामा हावाहुरीको सम्भावना रहेको भन्दै अद्यावधिक विवरण सार्वजनिक गरेको छ। विभागले बुधबार बिहान जारी गरेको विशेष मौसम बुलेटिनअनुसार हावाहुरी आज अपराह्न ४ बजेदेखि सक्रिय हुन सक्ने जनाएको छ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका क्षेत्रमा हावाहुरीको प्रभाव देखिन सक्ने सम्भावना छ। त्यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी आसपासका जिल्लामा पनि यसको असर पर्ने अनुमान गरिएको छ।
गण्डकी प्रदेशको नवलपुर तथा बागमती प्रदेशको चितवन आसपासका क्षेत्रमा समेत हावाहुरीले प्रभाव पार्न सक्ने विभागले जनाएको छ।
मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित वरपरका जिल्लामा पनि मौसम प्रतिकूल हुन सक्ने चेतावनी दिइएको छ। यस्तै, कोशी प्रदेशका झापा र मोरङ क्षेत्रमा पनि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।
यसअघि विभागले मंगलबार साँझ जारी गरेको पूर्वानुमानमा हावाहुरी साँझ ५:४५ बजेदेखि शुरू भई वैशाख १७ गते बिहान ७:४५ बजेसम्म रहने अनुमान गरेको थियो। अद्यावधिक सूचनासँगै समय अगाडि सारिएको हो।