गुल्मीको रेसुङ्गा नगरपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। विद्यालयबाट ४ जिपिए प्राप्त गरेकी छात्रा अस्मिता पाण्डेलाई एक लाख रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको हो।
विद्यालय परिसरमा आयोजित विशेष सम्मान कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख , विद्यालयका प्रधानाध्यापक लगायतले पाण्डेलाई चेक र सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।
गत चैतमा सञ्चालन भएको एसइई परीक्षामा महेन्द्र माध्यमिक विद्यालयबाट ८० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ६८ जना विद्यार्थी उत्तीर्ण भएको सहायक प्रधानाध्यापक ले जानकारी दिनुभयो।
यस वर्ष गुल्मी जिल्लाबाट कुल ६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्। उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीमा रेसुङ्गा माविकी दीक्षा पोखरेल, रुरुक्षेत्र गाउँपालिकाको रिडी माविकी मर्यादा पौडेल, रेन्बो इङ्लिस बोर्डिङ स्कुलका आरुसा श्रेष्ठ र खोमराज पन्थी तथा चन्द्रकोट गाउँपालिकास्थित शारदा माविकी रीतिका गौतम रहेका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख का अनुसार जिल्लाबाट साधारण धारतर्फ ३ हजार ३३९ विद्यार्थी एसइईमा सहभागी भएकामा २ हजार २९३ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीमध्ये ६८.६८ प्रतिशत हो। साधारण धारमा ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २२१ रहेको जनाइएको छ।
त्यसैगरी, प्राविधिक धारतर्फ २५९ विद्यार्थी सहभागी भएकामा १८२ जना उत्तीर्ण भएका छन्, जुन ७०.२८ प्रतिशत हो।
विद्यालयका प्रधानाध्यापक मरासिनीले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण, अभिभावकको साथ तथा सरकारी निकायको सहयोगकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो।