रौतहट, । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको माग पूरा गर्न असफल हुदै गएको टिप्पणी गरेका छन ।
हिन्दुहरूको महान् पर्व दीपावली, पर्व छठको अवसरमा आज (बिहीबार) रौतहटको गुजरा नगरपालिका– ३ बलुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आजपा अध्यक्ष साहले सरकारमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारबाट सरकारमा प्रतिनिधित्व हुनुपर्ने बताए ।
`सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको बलमा बनेको छ । तर यो सरकार जेनजी आन्दोलनको माग सम्बोधन गर्न पुर्णतया असफल भएकोछ,´ आजपा अध्यक्ष साहले भने, `जेनजीको माग केवल एउटा सरकार हटाएर अर्को सरकार बनाउनु थिएन । व्यवस्था बदलाव , भ्रष्टाचरीलाई कारबाही, हत्यारालाई कारबाही लगायतका माग सम्बोधन गर्न सरकारले चासो नै दिएन ।´
वर्तमान सरकारले निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागेको उनले बताए । तर तोकिएको मितिमा जसरी पनि निर्वाचन सम्पन्न गराउन आजपाले जनदबाब सृजना गर्ने र यिनिहरुको कान समातेर पनि निर्वाचन गराउने उनले बताए । जेनजी आन्दोलनका हत्याराहरु खुलेयाम घुम्दै गर्दा सुशीला कार्की नेतृत्वको सरकार रमिते बनेको टिप्पणी साहले गरे ।
नेपालमा परिवर्तनका विभिन्न ऐतिहासिक आन्दोलनहरू मध्ये नयाँ पुस्ताको जेनजी आन्दोलनले देशमा सत्य र न्यायको पक्षमा निर्णायक मोड ल्याएको उनल्र बताए।
`देश र संसारमा लामो आन्दोलनको इतिहास छ– राणा विरुद्धको आन्दोलन, माओवादी जनआन्दोलन, मधेस आन्दोलन वर्षौँ चले। तर नेपालको दुई दिनको ,जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ । वर्तमान सरकारले यसलाई गम्भीर रुपमा बुझ्न आवश्यक छ,´ आजपा अध्यक्ष साहले भने ।
पूर्वमन्त्री साहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई `इतिहासकै गल्ती´भन्दै ओलीलाई हत्यारा र भ्रष्टाचारीको प्रतीकका रूपमा व्याख्या गरे ।
साहले जेनजी आन्दोलनलाई नयाँ राजनीतिक युगको सुरुवात भन्दै दलतन्त्र र लुटतन्त्र समाप्त पार्ने आन्दोलनको स्वरूपमा व्याख्या समेत गरे । उनले तीन वर्ष अघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र रूपमा जनताको मतबाट जितेको प्रसङ्ग स्मरण गर्दै जनताको विश्वास नै आफ्नो शक्ति भएको बताए ।
`तीन वर्षदेखि सदनदेखि सडकसम्म म जनताको हकहितमा आवाज उठाउँदै आएको छु। भन्सार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारको ठगी, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा लड्दै आएको छु। यो लडाइँ अझै पूरा भएको छैन, षड्यन्त्र जारी छ तर सत्य अन्ततः जित्नेछ,´ साहले भने ।