काठमाडौँ, असोज २७ । नवरात्रको तेस्रो दिन
मङ्गलबार नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना
गरिँदैछ। दसैँघर तथा पूजा कोठामा देवीको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजा
गर्ने परम्परा छ।
पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने
भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा समेत चन्द्रघण्टा
देवीको स्वरूप र नामबारे उल्लेख गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा
निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति
प्राप्त हुने धार्मिक विश्वास छ। नवरात्रका अवसरमा देवीको विशेष आराधना गर्ने
परम्परा पनि यही विश्वासमा आधारित छ।
चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक
ग्रन्थमा वर्णन गरिएको छ। उहाँलाई अत्याचारी दानवी शक्तिको नाश गर्ने देवीका रूपमा
लिइन्छ। यस दिन मणिपुर चक्रमा ध्यान गर्ने परम्परा रहेको छ। देवीको आराधना र
ध्यानबाट शक्ति प्राप्त हुने विश्वास गरिन्छ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका
अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाबाट पाप नाश
हुने उल्लेख छ। देवीको स्वरूप शान्त, करुणामयी र
शक्तिशाली मानिन्छ। विशेषगरी गीतसङ्गीत क्षेत्रमा लागेका व्यक्तिले पनि
चन्द्रघण्टा देवीको आराधना गर्ने धार्मिक परम्परा रहेको उहाँले बताउनुभयो।
नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार घटस्थापना गरी
जौको जमरा राखिएको थियो। घटस्थापनालाई देवीको ध्यान र साधनाको सुरुवातका रूपमा
लिइन्छ। पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको
थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती
(चण्डी), श्रीमद्देवीभागवत् लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ।
देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक
विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल
प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा गर्छन्।
दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी
र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन
र पूजाआराधना गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ। दसैँका अतिरिक्त बुधबार, बिहीबार, शुक्रबार
र शनिबारलगायत दिनमा पनि विभिन्न मठमन्दिरमा देवीको विशेष पूजा आराधना गर्ने
परम्परा छ।
नवरात्रमा नौ दिनसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि
कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। यसरी नेपाली समाजमा बडादसैँलाई धार्मिक आस्था, सांस्कृतिक
परम्परा र पारिवारिक भेटघाटको महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।