काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई थप तीव्र बनाएको छ । यसक्रममा वडा नम्बर १६ अन्तर्गत बालाजु क्षेत्रको खोला किनारमा बनाइएका संरचनाहरू भत्काइएको छ भने केही स्थानीयले पूर्वसूचनापछि आफ्ना घर आफैं हटाउन थालेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन पूर्वसूचना जारी गरेपछि महानगरपालिकाले माइकिङमार्फत स्थान खाली गर्न आग्रह गरेको थियो । सोही सूचनापछि स्थानीयले घरभित्र रहेका सामान सुरक्षित स्थानतर्फ सार्न थालेका थिए ।
महानगरपालिकाले आज वडा नम्बर १४ को बल्खु तथा वडा नम्बर ११ को वंशीघाट (टेकु नजिक) क्षेत्रमा बनेका अवैध घरटहरामा समेत डोजर चलाएको जनाएको छ ।
त्यसैगरी वडा नम्बर १५ को स्वयम्भू, वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडीपाखा र रानीबारीलगायतका क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम पनि अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि सरकारले वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका सुकुमवासी बस्तीमा डोजर अभियान सञ्चालन गरेको थियो । बाँकी क्षेत्रमा पनि आजदेखि सो अभियान विस्तार गरिएको जनाइएको छ।