काठमाडौँ । शहरी
क्षेत्रमा बढ्दो सवारी चोरीका घटनाबीच ट्राफिक प्रहरीले हराएका ५० वटा मोटरसाइकल
खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। विभिन्न समयमा हराएका यी
मोटरसाइकलहरू विशेष अभियान सञ्चालन गरी फेला पारिएको ट्राफिक प्रहरीको भनाइ छ।
पछिल्लो समय सवारी साधन चोरीका
घटनामा वृद्धि भइरहेका बेला प्रहरीले हराएका मोटरसाइकल खोजी गरी धनीलाई हस्तान्तरण
गर्ने कार्यलाई तीव्रता दिएको छ। यही क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी
कार्यालयले विभिन्न समयमा हराएका ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई
जिम्मा लगाएको छ।
सोमबार आयोजित एक कार्यक्रममा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज
अधिकारीले उक्त जानकारी दिँदै सवारी चोरी नियन्त्रण तथा हराएका सवारी खोजी
कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताए। उनका अनुसार उपत्यकाका विभिन्न
स्थानबाट चोरी भएका वा हराएको भन्दै उजुरी परेका मोटरसाइकलमध्ये विस्तृत अनुसन्धान, प्रविधिको
प्रयोग तथा निगरानीमार्फत ५० वटा सवारी साधन फेला पार्न सफल भएको हो।
उनले भने, “विभिन्न स्थानबाट
चोरी भएका तथा हराएको भनी उजुरी आएका सवारी साधनहरूलाई खोजी गर्ने क्रममा ५० वटा
मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएका छौं। यो कार्य निरन्तर रूपमा
अघि बढाइनेछ।” एसएसपी अधिकारी
प्रहरीका अनुसार सवारी साधन चोरीमा
संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन समेत सक्रियता बढाइएको छ। केही मोटरसाइकल
चोरी गरेर लैजाँदै गरेको अवस्थामा नै पक्राउ गरिएको र अन्य केही घटनामा संलग्न
व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक
कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी इकाइमा पठाइएको
छ।
यसैबीच, चोरी गरिएका मोटरसाइकलहरू लुकाएर राखिएको आशंका गरिएका विभिन्न स्थानहरूमा समेत प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो। सो क्रममा केही सवारी साधन बरामद गरिएको र त्यस्ता अवैध गतिविधिमा संलग्न नेटवर्कबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय सवारी चोरीका
घटनामा संगठित समूहहरूको संलग्नता देखिन थालेको भन्दै सचेत रहन आग्रह गरेको छ।
सार्वजनिक स्थानमा सवारी पार्क गर्दा सुरक्षाका उपाय अपनाउने, लक
सिस्टम प्रयोग गर्ने, अपरिचित व्यक्तिलाई सवारी जिम्मा नदिने
जस्ता सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिइएको छ।
साथै, सवारी
साधन हराएको अवस्थामा ढिला नगरी तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन पनि
आग्रह गरिएको छ। समयमै प्राप्त सूचना, सिसिटिभी फुटेजको
विश्लेषण तथा प्रविधिको प्रयोगबाट हराएका सवारी साधन छिटो पत्ता लगाउन सकिने
भएकाले नागरिकको सहयोग अत्यन्तै महत्वपूर्ण रहने प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी
दिनमा पनि सवारी चोरी नियन्त्रण, जनचेतना अभिवृद्धि तथा
प्रविधिमैत्री निगरानी प्रणालीमार्फत सुरक्षा व्यवस्था थप सुदृढ बनाउँदै लैजाने
प्रतिबद्धता व्यक्त गरेको छ।
प्रहरीका अनुसार चोरी भएका सवारी
साधनको खोजी तथा नियन्त्रणका लागि नियमित अनुगमन, चेकजाँच तथा
सूचनाको आधारमा अनुसन्धानलाई तीव्र बनाइएको थियो। सोही क्रममा विभिन्न स्थानबाट
मोटरसाइकलहरू बरामद गरी कानुनी प्रक्रिया पूरा गरेपछि धनीलाई बुझाइएको हो।
मोटरसाइकल फिर्ता पाएपछि
सेवाग्राहीहरूले ट्राफिक प्रहरीको सक्रियता र मेहनतको प्रशंसा गरेका छन्। यसले
सवारी चोरी नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आवश्यक रहेको सन्देश पनि दिएको छ।
ट्राफिक प्रहरीले सर्वसाधारणलाई सवारी साधन सुरक्षित रूपमा पार्क गर्न, आवश्यक कागजात साथमा राख्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ। साथै, चोरी नियन्त्रणका लागि नागरिक र प्रहरीबीच सहकार्य अपरिहार्य रहेको बताइएको छ।