काठमाडौं । आकर्षक तलबको प्रलोभन
देखाउँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी
सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय, टेकुले बेरोजगार
युवायुवतीहरूलाई विदेश पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखी ठगी गरेको
उजुरीका आधारमा अनुसन्धान गर्दा दुई जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट
पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा दोलखाको शैलुङ
गाउँपालिका-४ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ९ बस्ने ३९ वर्षीय दावा
योञ्जन रहेका छन्। उनले सर्बिया र यूएई पठाइदिने भन्दै पीडितबाट रु. ११ लाख ४५
हजार ठगी गरेको आरोप छ। यस्तै, बाराको आदर्शकोटवाल गाउँपालिका ४ स्थायी घर भई हाल
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने २७ वर्षीय अनिल कुमार यादव पनि
पक्राउ परेका छन्। उनले मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोप लागेको प्रहरीले
जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप
अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।