१६ वैशाख, बुटवल । रुपन्देहीको बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्।
बुटवलबाट बर्दघाटतर्फ गइरहेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको देवदह मेडिकल कलेज तथा अनुसन्धान प्रतिष्ठान मा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी देवदह खैरेनीका अनुसार मृतकहरूको नाम र ठेगाना खुल्ने प्रक्रिया जारी रहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।