कञ्चनपुरमा इँटा उद्योगभित्र भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।
पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’मा रहेको न्यू इँटा उद्योगमा काम गर्ने क्रममा ट्याक्टरले किच्दा भारतको उत्तर प्रदेश, बहराइच जिल्लाका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको ज्यान गएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर शाहीका अनुसार गएराति काँचो इँटामा पानी हाल्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उनीहरूलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको थियो।
उपचारकै क्रममा अजय कुमारको सेती प्रादेशिक अस्पतालमा तथा पवन कुमारको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते भएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि ट्याक्टर चालक फरार रहेका छन् भने उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।