काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अवैध संरचना तत्काल हटाउन निर्देशन दिएको छ। कार्यालयले “अत्यन्त जरुरी सूचना” जारी गर्दै यस्ता अतिक्रमणले सार्वजनिक आवागमन, सहरी पूर्वाधार निर्माण र नदीको बहावमा प्रतिकूल असर पारिरहेको जनाएको छ।
सूचनाअनुसार नदी किनारमा बसोबास गर्ने तथा टहरा बनाएर बस्ने व्यक्तिहरूलाई तोकिएको समयभित्र संरचना खाली गर्न आग्रह गरिएको छ। विस्थापनका क्रममा आफ्ना निजी सामान, लत्ताकपडा तथा पशुपंक्षी सुरक्षित स्थानमा सार्न पनि भनिएको छ।
प्रशासनले विशेष रूपमा बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा बिरामी व्यक्तिलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न अनुरोध गरेको छ। आवश्यक परेमा महानगरीय प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट सहयोग उपलब्ध गराइने बताइएको छ।
सूचनामा तोकिएको मितिदेखि बिहान ६:०० बजेदेखि अवैध संरचना हटाउने र अतिक्रमित जग्गा खाली गर्ने कार्य सुरु गरिने उल्लेख छ। यस क्रममा कसैले अवरोध सिर्जना गरे कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
त्यसैगरी, प्रभावित परिवारलाई सरकारद्वारा तोकिएको स्थानमा न्यूनतम आधारभूत सुविधा सहित अस्थायी बसोबासको व्यवस्था गरिने जनाइएको छ। आगामी दिनमा वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचनाको अवज्ञा गरी बसेमा संरचना हटाउँदा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले वहन गर्नुपर्ने स्पष्ट पारेको छ।