काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुर तीनदिने नेपाल भ्रमणका लागि सोमबार (वैशाख ७) बिहान काठमाडौं आइपुगेका छन्।
नेपाल भ्रमणका क्रममा उनले अमेरिका–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा सरकार गठन भएपछि नेपाल आएका उनी पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन्।
भ्रमणका क्रममा कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्।
मंगलबार (वैशाख ८) बिहान ९:३० बजे उनले परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गर्ने कार्यक्रम रहेको छ भने बिहान १०:३० बजे अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गर्ने तय भएको छ।
यसैबीच, उनले पाटन दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।