आइत, १० जेठ २०८३ / May 24, 2026, Sunday
आइत, १० जेठ २०८३
Advertisement
banner add

प्रहरी संगठनमा सरुवाको लहर: एसएसपीदेखि निरीक्षकसम्म हेरफेर तयारी

banner add
writter
आइत, १० जेठ २०८३
(Shares)

निगरानी ब्यूरो । नेपाल प्रहरीमा एसएसपी तहको व्यापक हेरफेरको तयारी सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले उपत्यकाको सुरक्षा कमाण्डलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा नयाँ नेतृत्व पठाउने गृहकार्य थालेको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरसहित उपत्यकाका ट्राफिक कार्यालय तथा केही प्रहरी तालिम केन्द्रमा एसएसपीहरूको सरुवाका लागि गृहकार्य तीव्र बनेको छ । काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापा, ललितपुर परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटी तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीसहित केही तालिम केन्द्रका प्रमुखहरूको समेत सरुवा हुन लागेको चर्चा प्रहरी संगठनभित्र तीव्र रूपमा चलिरहेको छ ।

काठमाडौं र ललितपुर परिसरको नेतृत्व परिवर्तनलाई सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई पछिल्लो सुरक्षा चुनौती, राजनीतिक दबाब र संगठनभित्रको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । विशेषगरी जेनजी आन्दोलनपछिको सुरक्षा अवस्थाले प्रहरी नेतृत्वको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएपछि उपत्यकाको सुरक्षा कमाण्ड फेरबदलतर्फ सरकार र प्रहरी प्रधान कार्यालय दुवै केन्द्रित देखिएका छन् ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि असोजको पहिलो साता काठमाडौं र ललितपुरका प्रहरी प्रमुख परिवर्तन गरिएको थियो । त्यसबेला आन्दोलनका क्रममा जेलमा आगजनी, तोडफोड तथा कैदीबन्दी भाग्ने घटनापछि राजधानीको सुरक्षा अवस्था नियन्त्रणमा ल्याउने जिम्मेवारी एसएसपी रमेश थापा र होविन्द्र बोगटीलाई दिइएको थियो । तर त्यसयता पनि फरार कैदी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल हुन नसकेपछि उनीहरूको नेतृत्वमाथि आलोचना बढ्न थालेको हो ।

सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जेनजी बिध्वंशका क्रममा भागेका साढे १४ हजार कैदीबन्दीमध्ये अझै करिब ४ हजार फरार रहेको जानकारी दिएका थिए । तीमध्ये कतिपय जघन्य अपराधमा संलग्न रहेको प्रहरी स्रोतको दाबी छ । यसले राजधानीको शान्ति सुरक्षा र नागरिक सुरक्षामाथि गम्भीर चुनौती खडा गरेको भन्दै सरकारमाथि दबाब बढिरहेको छ ।

सुरक्षा विश्लेषकहरूका अनुसार यति ठूलो संख्यामा फरार अपराधी खुला रूपमा बाहिर रहनु राज्यको सुरक्षा संयन्त्रकै कमजोर पक्षको संकेत हो । विशेषगरी हत्या, संगठित अपराध, लागूऔषध कारोबार, जबर्जस्ती करणी, अपहरण तथा अन्तरदेशीय अपराधमा संलग्न व्यक्तिहरू अझै फरार रहनुले पुनः ठूला आपराधिक घटना हुन सक्ने जोखिम बढाएको छ ।

यता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ । जघन्य अपराध अनुसन्धानमा केन्द्रित हुनुपर्ने सीआईबी पछिल्लो समय आर्थिक प्रकृतिका मुद्दामा बढी सक्रिय देखिएको आरोप लागिरहेको छ । बोलपत्र (ठेक्का) ह्याकिङ, बैंकिङ कसुर, सेयर कारोबार तथा आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा ब्यूरो सक्रिय भए पनि अदालतबाट अधिकांश आरोपीहरू छुट्दै गएपछि अनुसन्धानको गुणस्तरमाथि समेत प्रश्न उठेको छ ।

फेक रेस्क्यु प्रकरण, बैंकका सीईओसँग सम्बन्धित मुद्दा, ठेकेदार प्रकरण तथा सरकारी बोलपत्र ह्याकिङजस्ता चर्चित घटनामा सीआईबीले ठूलो संख्यामा व्यक्तिहरू पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । तर अदालतले अधिकांशलाई साधारण तारेख वा धरौटीमा छाडेपछि ब्यूरोको अनुसन्धान पद्धतिमाथि आलोचना बढेको हो । ठेक्का ह्याकिङ प्रकरणमा सरकारी कर्मचारी (सब–ओभरसियर) दिवाकर देउजाबाहेक अधिकांश आरोपी छुटिसकेका छन् ।

यसैबीच, गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाह निकट सल्लाहकार टोली उपत्यकाको सुरक्षा नेतृत्व तत्काल फेरबदल गर्नुपर्ने पक्षमा रहेको स्रोत बताउँछ । उनीहरूले फरार अपराधी नियन्त्रण, हिरासत व्यवस्थापन, अनुसन्धान क्षमता तथा सार्वजनिक सुरक्षा प्रभावकारी बनाउन नयाँ नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको बताइन्छ ।

तर प्रहरी महानिरीक्षक दानबहादुर कार्की भने कम्तीमा एक वर्ष कार्यकाल पूरा गर्न दिनुपर्ने पक्षमा रहेको प्रहरी स्रोतको दाबी छ । बारम्बार नेतृत्व परिवर्तन गर्दा कार्यसम्पादनमा असर पर्ने र संगठनभित्र अस्थिरता बढ्ने तर्क आईजीपी निकट अधिकारीहरूको छ ।

विशेषगरी व्यवसायी सुलभ अग्रवाललाई हिरासतभित्र ल्यापटप उपलब्ध गराइएको घटनाले ललितपुर परिसरलाई थप विवादमा तानेको छ । उक्त घटनाको छानबिनका लागि समिति नै गठन भइसकेको छ । अग्रवालको ल्यापटप सीआईबीले नियन्त्रणमा लिएको छ भने घटनाको अनुसन्धानको जिम्मेवारी काठमाडौं परिसरलाई दिइएको छ । यही घटनापछि ललितपुरका एसएसपी होविन्द्र बोगटीको सरुवा लगभग निश्चितजस्तै मानिएको छ ।

यता एसएसपी सरुवाको चर्चा चुलिँदै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व लिन विभिन्न प्रहरी अधिकारीहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ । काठमाडौं परिसरको प्रमुख बन्न एसएसपी अजय केसी, दयानिधि ज्ञवाली, शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले र दिलीप घिमिरे सक्रिय रूपमा शक्तिकेन्द्र धाइरहेको चर्चा प्रहरी वृत्तमा छ । तीमध्ये केहीलाई ललितपुर परिसर, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा प्रहरी तालिम केन्द्रहरूमा पठाउने सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार काठमाडौं र ललितपुरको नेतृत्व चयनमा प्रधानमन्त्री निकट सल्लाहकार समूहको प्रभाव निर्णायक बन्न सक्ने देखिएको छ । यसैबीच, आईजीपी कार्की विभिन्न कार्यक्रम तथा समितिका बैठकमा व्यस्त रहेका बेला सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले शिवकुमार श्रेष्ठलाई काठमाडौं परिसरको नेतृत्वमा ल्याउन सक्रिय भूमिका खेलेको चर्चा प्रहरी वृत्तमा चलिरहेको छ । यद्यपि, उनको पठाउने सम्भावना भने कमजोर देखिएको स्रोतहरूको दाबी छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा समेत नेतृत्व परिवर्तनको तयारी भइरहेका बेला ट्राफिक व्यवस्थापन, सडक अनुशासन, दुर्घटना नियन्त्रण तथा डिजिटल ट्राफिक निगरानी प्रणालीलाई प्रभावकारी बनाउन सक्ने अधिकारी खोज्ने प्रयास भइरहेको बताइएको छ । हालका उपत्यरा ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीको कार्यकाललाई भने ट्राफिक व्यवस्थापन सुधार, सडक अनुशासन कायम तथा प्रविधिमैत्री निगरानी प्रणाली विस्तारका हिसाबले उत्कृष्ट कार्यकालका रूपमा मूल्यांकन गरिएको प्रहरी वृत्तमा चर्चा छ ।

यसैबीच, प्रहरी संगठनभित्र अर्को ठूलो चासोको विषय प्रहरी निरीक्षकहरूको सरुवा पनि बनेको छ । सामान्यतया एक वर्षमा नियमित सरुवा हुनुपर्ने प्रावधान रहे पनि धेरै प्रहरी निरीक्षकहरूले १३ महिना पुग्दासमेत सरुवा पाउन सकेका छैनन् । लामो समयदेखि निरीक्षक तहको सरुवा रोकिँदा संगठनभित्र असन्तुष्टि बढ्दै गएको बताइन्छ ।

 प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा सूची अन्तिम चरणमा पुगेको छ । जिल्लादेखि उपत्यका तथा विशेष ब्यूरोसम्म व्यापक हेरफेरको तयारी भइरहेको बुझिएको छ । निरीक्षक तहमा सरुवा रोकिँदा वृत्ति विकास, कार्यसम्पादन मूल्यांकन तथा संगठनभित्रको कमाण्ड संरचनामा समेत असर परेको अधिकारीहरू बताउँछन् ।

यसअघि केही दिनअघि मात्र जिल्लाका प्रहरी प्रमुख (एसपी) तथा इलाका प्रमुखका रूपमा कार्यरत डीएसपीहरूको सरुवा सूची सार्वजनिक भएको थियो । त्यसपछि अब एसएसपी र प्रहरी निरीक्षकहरूको सरुवातर्फ संगठनको ध्यान केन्द्रित भएको देखिन्छ।

प्रहरी संगठनभित्र अहिले एसएसपी र प्रहरी निरीक्षकहरूको सरुवालाई लिएर तीव्र दौडधूप, राजनीतिक पहुँच र शक्ति केन्द्रको चलखेल बढेको चर्चा छ । उपत्यकाको सुरक्षा कमाण्ड कसले सम्हाल्ने भन्ने विषय अब केवल प्रशासनिक निर्णयमा सीमित नरही राजनीतिक तथा रणनीतिक चासोको विषयसमेत बनेको देखिन्छ ।

हाल उपत्यकाको सुरक्षा व्यवस्थापन, बढ्दो अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र राजनीतिक–सामाजिक गतिविधिको संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यसम्पादन लाई मुख्य आधार बनाएर नेतृत्व परिवर्तनको तयारी गरिएको बताइन्छ । प्रहरी मुख्यालय स्रोतका अनुसार केही एसएसपीको कार्यकाल लम्बिएको, केहीमाथि कार्यसम्पादनको प्रश्न उठेको तथा केहीलाई बढुवाको लाइनमा व्यवस्थापन गर्नुपर्ने भएकाले व्यापक सरुवाको तयारी अघि बढाइएको हो ।

विशेष गरी जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हाइ–प्रोफाइल जिम्मेवारी मानिने भएकाले ती कार्यालयमा अनुभवी र राजनीतिक तथा प्रशासनिक समन्वय गर्न सक्ने अधिकृत पठाउने चर्चा तीव्र छ । प्रहरी वृत्तभित्र अहिले सम्भावित कमाण्डरहरूको नामलाई लिएर तीव्र लबिङ सुरु भएको चर्चा पनि चलिरहेको छ ।

ललितपुर परिसरमा समेत नयाँ नेतृत्व आउने सम्भावना बढेको छ । पछिल्लो समय सहकारी ठगी, साइबर अपराध, सडक सुरक्षा र शहरी अपराधका घटनाले चुनौती थपिएपछि नेतृत्व फेरबदलमार्फत नयाँ सन्देश दिन खोजिएको विश्लेषण भइरहेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भने ट्राफिक व्यवस्थापन, चेकिङ विवाद, सर्वसाधारण गुनासा र प्रविधिमैत्री व्यवस्थापनको विषयलाई केन्द्रमा राखेर नयाँ कमाण्डर छनोट हुने सम्भावना रहेको प्रहरी वृत्तको चर्चा छ ।

यद्यपि प्रहरी प्रधान कार्यालयले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन । तर, गृह मन्त्रालय र प्रहरी नेतृत्वबीच आन्तरिक छलफल तीव्र बनेको तथा केही दिनभित्रै सरुवाको सूची सार्वजनिक हुन सक्ने उच्च स्रोतको दाबी छ ।

यसपटकको एसएसपी हेरफेरले केवल प्रहरी प्रशासनको व्यवस्थापन मात्रै होइन, उपत्यकाको सुरक्षा रणनीति र शक्ति सन्तुलनलाई समेत प्रभाव पार्ने देखिन्छ । अहिले सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ—काठमाडौं, ललितपुर र ट्राफिकको नयाँ कमाण्ड कसले सम्हाल्छ ?

ads
ads
add
banner add

सम्बन्धित खबर