काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा भइरहेको छ । हाल बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदलीको अवस्था छ।
आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली कायम रहने पूर्वानुमान गरिएको छ। अन्य क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेशसहित अन्य हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुन सक्ने जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी र तराई जिल्लाका केही स्थानमा हुरीबतास, असिना तथा चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने तथा उच्च भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।