दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १३
वर्षीय एक बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर
गाउँपालिका–२ बेलास्थित दुर्गा सामुदायिक वनमा ट्र्याक्टर लिएर माटो लिन गएका बेला
माटोको ढिस्को खस्दा राजपुरका १३ वर्षीय दिपेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
उक्त घटनामा १८ वर्षीय सुमित यादव घाइते भएका
छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति दिपेश र सुमित
ट्र्याक्टर लिएर माटो लिन वन क्षेत्रमा गएका थिए। सोही क्रममा माटोको ढिस्को खसेर
दुर्घटना भएको हो।
घटनामा संलग्न ट्र्याक्टर चालकलाई नियन्त्रणमा
लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी
हेमबहादुर केसीले जानकारी दिए। मृतक चौधरीको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा
राखिएको छ।