काठमाडौँ । अख्तियार दुरुप्रयोग अनुसन्धान
आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका
कार्यालय प्रमुख डा. रामपवित्र दास र हलुका सवारीचालक भोगेन्द्र यादवविरुद्ध घुस
लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार दुवैले
भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमबाट २० प्रतिशत
कमिसन मागेका थिए। उजुरीका आधारमा खटिएको आयोगको टोलीले उनीहरूलाई घुसबापतको रु. १
लाख ३२ हजार ३५० रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट कार्यालय प्रमुख दासले
सवारीचालक यादवसँग मिलेमतो गरी सेवाग्राहीलाई २० प्रतिशत रकम घुसका रूपमा दिन
बाध्य पारेको र सोही रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेको आयोगका प्रवक्ता
सुरेश न्यौपानेले जानकारी दिएका छन्।
आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार
निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबर
जरिवानाको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।