काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद
प्रतियोगिताको मिति फेरि घोषणा भएसँगै नेपाली खेलकुद क्षेत्रमा आशा र अपेक्षा
जागेको छ। राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २१
गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ।
दशौँ राष्ट्रिय खेलकुदको चर्चा आजको
मात्र होइन। २०७९ कात्तिक–मंसिरमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय
खेलकुदको समापन समारोहमा नै दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा
आयोजना गर्ने घोषणा गरिएको थियो। तर घोषित समयमै प्रतियोगिता हुन सकेन र मिति
पटक–पटक सर्दै आयो।
राष्ट्रिय खेलकुद केवल प्रतियोगिता
आयोजना गर्ने औपचारिकता होइन। यो देशभरका खेलाडीको वर्षौँको मेहनत, पसिना, सपना र
सम्भावनालाई राष्ट्रिय मञ्च दिने अवसर हो। त्यसैले पटक पटक मिति घोषणा भएर पनि
प्रतियोगिता समयमा हुन नसक्दा सबैभन्दा ठूलो असर खेलाडीको मनोबल, तयारी र भविष्यमा पर्छ।
खेलाडीलाई प्रतियोगिताको मिति मात्र
होइन, विश्वास गर्न सकिने प्रणाली, नियमित प्रशिक्षण, आवश्यक पूर्वाधार, वैज्ञानिक प्रशिक्षण
र समयमा प्रतियोगिता चाहिन्छ। एउटा खेलाडीले पदक जित्न मैदानमा केही मिनेट वा केही
घण्टा मात्र बिताउँदैन; त्यसका पछाडि
वर्षौँको अनुशासन, त्याग र अथक परिश्रम
हुन्छ।
अब घोषित मिति फेरि नसराओस्।
कर्णालीको भौगोलिक अवस्था, पूर्वाधार र
व्यवस्थापनका चुनौतीलाई समयमै सम्बोधन गर्दै सरकारले खेलाडी, प्रशिक्षक र सम्बन्धित खेल संघहरूसँग प्रभावकारी समन्वय
गरेर तयारीलाई तीव्रता दिन आवश्यक छ। राष्ट्रिय खेलकुदको वास्तविक सफलता उद्घाटन समारोहको भव्यतामा होइन, खेलाडीले मैदानमा पाउने सम्मान, सुविधा, सुरक्षा र
निष्पक्ष अवसरमा मापन हुनुपर्छ।
नेपालले खेलकुदमा नयाँ पुस्ता तयार
पार्न चाहन्छ भने राष्ट्रिय खेलकुदलाई केवल एउटा प्रतियोगिता होइन, खेलाडीको भविष्य निर्माण गर्ने राष्ट्रिय अभियानका रूपमा
लिनुपर्छ।मिति घोषणा गर्नु सुरुवात हो, घोषित मितिमा प्रतियोगिता सम्पन्न गर्नु राज्यको प्रतिबद्धताको परीक्षा हो।