बुध, ०२ मंसिर २०८३ / November 18, 2026, Wednesday
बुध, ०२ मंसिर २०८३
Advertisement
banner add

आन्ताल्यामा नेपाली युवाको प्रदर्शन : सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ

banner add
writter
बुध, ०२ मंसिर २०८३
(Shares)

टर्की - जलवायु परिवर्तनको असर भोगिरहेको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति होइन, न्याय पाउनुपर्ने माग गर्दै नेपालीहरूले टर्कीको आन्ताल्यामा प्रदर्शन गरेका छन् । रसुवा भोटेकोशी बाढीका पीडित सम्झँदै युवाहरुले जलवायु न्यायको माग गरेका हुन । 

प्रदर्शनस्थलमा चारवटा शवका नमुना राखिएको थियो । नमुना शवले सहभागीहरूको ध्यान खिचेको थियो । आफन्त बाढीमा बेपत्ता भएपछि शवसमेत फेला नपरेको पीडालाई ती नमुनामार्फत प्रस्तुत गरिएको थियो । शवको नमुनामार्फत बाढी र जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्थालाई प्रदर्शन गरिएको थियो ।

जलवायु संकटका लागि जिम्मेवार प्रदूषणकारी राष्ट्र तथा पक्षहरूले क्षतिपूर्ति दिनुपर्ने मागसहित आयोजित प्रदर्शनमा एक दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाए थिए ।

प्रदर्शनमा सहभागी नेपाली युवाहरूले ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’, ‘ऋण होइन, क्षतिपूर्ति चाहिन्छ’ लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालले भोगिरहेको भन्दै उनीहरूले जलवायु संकटका लागि बढी जिम्मेवार पक्षले यसको आर्थिक दायित्व वहन गर्नुपर्ने बताए । 

प्रदर्शनमा बोल्ने विभिन्न देशका वक्ताहरूले पनि नेपालको जलवायु न्यायसम्बन्धी मागप्रति ऐक्यबद्धता जनाएका थिए । उनीहरूले जलवायु परिवर्तनबाट जोखिममा रहेका समुदाय र देशका आवाजलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

नेपाली वक्ताहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई ऋण दिएर थप आर्थिक भार बोकाउनुको सट्टा प्रदूषणका लागि जिम्मेवार पक्षले क्षतिपूर्ति दिनुपर्ने बताए । कार्यक्रममा वक्ता रहेकी पेमा वाङ्मो तामाङले हामीलाई सहानुभूति होइन, न्याय चाहिएको छ भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएकी थिइन । उनले थपिन ‘जलवायु संकट सिर्जना गर्नेहरूले यसको मूल्य चुकाउनुपर्छ ।’

नेपाली युवाहरूले नेपालको जलवायु संकटलाई केवल वातावरणीय समस्याका रूपमा नभई न्याय, मानवअधिकार र मानवीय अस्तित्वसँग जोडिएको विषयका रूपमा उठाएका थिए । अन्तर्राष्ट्रिय समुदायले जलवायु प्रभावित देशका नागरिकको पीडा र क्षतिलाई सम्बोधन गर्नुपर्ने उनीहरूको माग थियो ।

आन्ताल्यामा भएको यो प्रदर्शनले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको असमान र गम्भीर असर भोगिरहेका नेपालजस्ता देशको क्षतिपूर्ति र जलवायु न्यायसम्बन्धी आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ ।

प्रदर्शनमा रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर