काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको
तयारी अघि बढाएको छ। निर्वाचनको आवश्यक तयारी तथा समग्र व्यवस्थापनबारे छलफल गर्न
आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई आगामी मंसिर ४ गते बैठकमा
बोलाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठक बिहान
११:३० बजे सुरु हुनेछ। बैठकमा समग्र निर्वाचनको तयारीबारे छलफल
हुने भए पनि आगामी स्थानीय तह निर्वाचनले विशेष प्राथमिकता पाउनेछ।
हाल राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र
पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा
एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति
पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन्।
प्रवक्ता भट्टराईले स्थानीय तह निर्वाचनको तयारी आयोगले अघि
बढाइसकेको जानकारी दिँदै निर्वाचनको मिति निर्धारणका विषयमा सरकारसँग परामर्श
भइरहेको बताए।
उनका अनुसार स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिई
निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन आयोग तयार छ। निर्वाचनको मिति सरकारले
तोक्ने र सरकारले निर्धारण गरेको मितिमा निष्पक्ष तथा व्यवस्थित निर्वाचन गराउने
जिम्मेवारी आयोगको हुने उनले स्पष्ट पारे।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पनि स्थानीय
तहका जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा समाप्त हुने भएकाले संवैधानिक
व्यवस्थाअनुसार सोही समय आसपास निर्वाचन हुने बताएका थिए।
निर्वाचनको मिति सरकारले निर्धारण गर्ने भए पनि निष्पक्ष, स्वतन्त्र र विवादरहित रूपमा निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको उनको भनाइ छ।