बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाले लोकसेवा तयारी
कक्षा सञ्चालनका लागि इच्छुक शैक्षिक संस्था तथा अनुभवी प्रशिक्षकबाट प्रस्ताव
आह्वान गरेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक
कार्यक्रमअन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन गर्न प्रस्ताव माग गरेको हो।
नगरपालिकाले लोकसेवा आयोगका प्राविधिक, अप्राविधिक, शिक्षक
सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाका विभिन्न पदको परीक्षाका
लागि तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ।
सूचनाअनुसार बाजुरा, धनगढी र
काठमाडौंमा भौतिक रूपमा तथा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न सक्ने अनुभवी र
दक्ष संस्था वा प्रशिक्षकले प्रस्ताव पेस गर्न सक्नेछन्।
प्रस्तावमा संस्थाको दर्ता विवरण, कर
चुक्ता प्रमाणपत्र, लोकसेवा तयारी कक्षा सञ्चालनको अनुभव, प्रशिक्षकको
योग्यता, पाठ्यक्रम, कक्षा तालिका, विद्यार्थीको
प्रगति मूल्याङ्कन, कार्ययोजना तथा आर्थिक प्रस्ताव समावेश
गर्नुपर्नेछ।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाइन
तथा अफलाइन कक्षाको दररेटसहित प्रस्ताव पेस गर्न आग्रह गरेको छ।
इच्छुक संस्था तथा शैक्षिक प्रतिष्ठानले बडिमालिका नगरपालिकाको कार्यालय, मार्तडी, बाजुरामा वा इमेलमार्फत प्रस्ताव पेस गर्न सक्नेछन्।